बैतडी – जिल्ला अस्पताल बैतडीमा मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको व्यवस्थापन, जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकाको समन्वयमा जिल्ला अस्पतालमा मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

यसअघि आकस्मिक रक्त सञ्चार केन्द्रमात्रै रहेको बैतडीमा मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको हो । मिनि ब्लड बैंक सञ्चालनमा आएसँगै रगतको आवश्यकता भएका बिरामीहरुले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । रगतको आवश्यकता भएका बिरामीहरुलाई ब्लड बैंकबाट रगत उपलब्ध गराइने सूचना अधिकारी पन्तले बताए ।

जिल्ला अस्पतालमा सञ्चालनमा ल्याइएको मिनि ब्लड बैंकका लागि एकजना स्वास्थ्य कर्मचारी दशरथचन्द नगरपालिकाले खटाएको छ । त्यस्तै आवश्यक उपकरण र अन्य सामग्रीहरु जिल्ला अस्पतालले उपलब्ध गराएको सूचना अधिकारी पन्तले बताए ।
आइतबार एक कार्यक्रमको आयोजना गरेर मिनि ब्लड बैंक सञ्चालनमा ल्याइएको बताइएको छ । दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी, उपप्रमुख कौशिला चन्द, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाहरुको उपस्थितीमा मिनि ब्लड बैंकको उद्दघाटन गरिएको छ ।


















