खाेज्नुहाेस

अझै खुलेन बैतडीको सुर्नया गाउँपालिकाको ताला, स्वास्थ्य सेवा प्रभावित

Image

बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा लगाईएको तालाबन्दी अझै खुल्न सकेको छैन् । सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा लगाएको ताला अझै सम्म पनि खुल्न नसकेको हो ।

लामो समयसम्म गाउँपालिका कार्यालयमा तालाबन्दी हुँदा पालिकाको स्वास्थ्य सेवा प्रभावित बनेको छ । तालाबन्दीका कारण पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य चौकीले जनाएका छन् ।

attariya hospital
navjiwan hospital

स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दल बहादुर बिष्टले जानकारी दिए । औषधीको अभावमा सामान्य चोटपटक लागेकाहरूलाई उपचार गर्न पनि सकिने अवस्था नरहेको उनले बताए । संस्थामा औषधी नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनु परेको उनको भनाई छ ।

स्वास्थ्य चौकीमा सामान्य सामाग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था आएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र सिंह बिष्टले बताए । गाउँपालिकाका स्वास्थ्य संयोजक राम सिंह महराले गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरूमा औषधी लगायतका स्वास्थ्य उपकरणको अभाव हुन थालेको बताए ।

गाउँपालिकाले स्वास्थ्य उपकरण सहितका औषधी आपूर्तिको लागि टेन्डर आह्वान गरिएको तर तालाबन्दीका कारण ठेक्का सम्झौता गरी औषधी खरिदको प्रक्रिया अघि बढाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । तालाबन्दीका कारण स्वास्थ्य जस्तो अत्यावश्यक सेवा प्रभावित भइरहेको बताउँदै उनले यथाशीघ्र सहमति गरी पालिकामा सहज वातावरण सिर्जना गर्न आग्रह गरे ।