दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका – ३ मडमा रहेको मालिकार्जुनमा आज देखि जात्रा सुरु हुँदै छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पुजन जात्रा सम्पन्न भए पछि हरेक वर्ष कार्तिक शुल्क चतुर्दशीका दिन लाग्ने जात्रा मंगलबार (आज) विहानबाट शुरु भएको हो ।
मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको लागि एक साता पहिले देखि नै तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा हजारौको संख्यामा दर्शनार्थीको सहभागिता हुने गर्दछ । सोमबार देखि नै मन्दिरमा भक्तजनहरुको भिडभाड रहेको छ । आज पनि विहानै देखि दर्शनार्थीहरु आउने क्रम सुरु भएको छ ।


जात्रालाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति, मन्दिर व्यवस्थापन समिति र अन्य नियकाले विभिन्न निर्णय गरेका छन् । मालिकार्जुन जात्रामा मदिरा बेचबिखन तथा सेवन पुर्ण रुपमा बन्द गरिएको छ । जसको लागि प्रहरीले एक साता अघि देखि नै चेकजाँच गरिररहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक गौरव महतले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सोमबार साँझ सम्म इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली र खंलगाबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३२ जना शसस्त्रको टोली मालिकार्जुन पुगिसकेको छ ।
त्यस्तै आज जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिसपी) गौरव महतको कमाण्डमा १ सय ६० जनाको प्रहरी टोली परिचालन हुने प्रशासनले जनाएको छ ।
















