खाेज्नुहाेस

हमासले विपिनको शव इजरायललाई बुझायो

Image

काठमाण्डौंं – हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शवइजरायललाई हस्तान्तरण गरेको हो।

इजरायली सेना (आइडिएफ) ले सोमबार साँझ रेडक्रसमार्फत शवका चार वटा बाकस प्राप्त भएको पुष्टि गरेको इजरायली अनलाइन टाइम्स अफ इजरायलले जनाएको छ।

attariya hospital

उक्त बाकसमा विपिन, गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव रहेको भनेर पनि टाइम्स अफ इजरायलले समाचारमा लेखेको छ। बन्धकहरु छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात भनिएको थियो।

navjiwan hospital

हमासले गाजापट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको छ । तर उनको मृत्यु भएको मिति खुलाइएको छैन । इजरायलमाथि आक्रमणको क्रममा हमासले ७ अक्टोबर २०२३ मा विपिनलाई गाजापट्टीसँग सीमा जोडिएको इजरायलको दक्षिण क्षेत्र सेदोत नेगेभस्थित किबुज अलुमिमबाट बन्धक बनाएर लिएर गएको थियो । त्यसक्रममा विपिनसहित २५१ जनालाई बन्धक बनाएर लगिएको थियो ।

परराष्ट्र मन्त्रालयले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले २ वर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयास गरेको जनाएको थियो । तर, नेपालको कमजोर कूटनीतिले विपिनलाई उद्धार गर्न सकेन । उनीसँगै बन्धक भएका ३१ जना थाइल्यान्डका नागरिकमध्ये २९ जनालाई थाई सरकारले पहिलो र दोस्रो युद्धविराममा नै उद्धार गरेको थियो । दुई थाई नागरिक पनि गाजापट्टीमा मारिएका थिए । उनीहरूको शव यसअघि नै परिवारले बुझिसकेका छन् ।

पछिल्ला ४८ जना बाँकी बन्धकमा विपिन एक्ला विदेशी नागरिक थिए ।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा अहिले अमेरिकामा छन् । उनीहरू ८ असोजमा विपिनकै रिहाइका लागि पहल गर्न अमेरिका पुगेका थिए । अमेरिकामा उनीहरूले संयुक्त राष्ट्रसंघका महासचिवदेखि विभिन्न पदाधिकारीसँग भेट गरेका छन् । अमेरिका जानुअघि बहिनी पुष्पा र आमा पद्मा साउन अन्तिम साता इजरायल पुगेका थिए ।

त्यहाँ उनीहरूले इजरायली राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेट्नुका साथै विपिनको रिहाइका लागि आयोजना गरिएको र्‍यालीमा समेत सहभागी भएका थिए । पुष्पाले र्‍यालीमै दाइलाई सकुशल रिहाइ गरिदिन आग्रह गरेकी थिइन् ।