बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा सञ्चालन भएको राष्ट्रिय परिचय पत्र शिविर सम्पन्न भएको छ । साउन २७ गतेबाट पालिकामा सुरु भएको शिविर यही असोज ३ गते सम्पन्न भएको हो ।

शिविरबाट ६३१ जनाले सेवा लिएको गाउँपालिका कार्यालयले जनाएको छ । पालिकाबासीहरुको राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि पालिकामा शिविर आयोजना गरिएको थियो । सो शिविरमा विवरण दर्ता गरेकाहरुले परिचय पत्र नम्बर प्राप्त गरिसकेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा गाउँपालिकाले शिविरको आयोजना गरेको अध्यक्ष साउँदले बताए । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको भएपनि सबैले सेवा लिएको उनको भनाई छ ।
सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि गाउँपालिकामै शिविर सञ्चालन गरेर परिचय पत्र दर्ताको काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । जेष्ठ नागरिकहरुलाई परिचय पत्र बनाउन सदरमुकाम आउन÷जान समस्या भएपछि प्रशासनको प्राविधिक सहयोगमा पालिकामै शिविर सञ्चाल गरेको उनले बताए ।















