बैतडी– बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दी र थुनुवा मध्ये ६० जना फर्किएका छन । जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर भागेका कैदीबन्दी तथा थुनुवामध्ये ६० जना कारागारमा फर्किएका हुन ।

कारागारबाट भागेका २ जना अझै फरार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । फरार रहेका कैदीबन्दीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर कारागारमा ल्याइएको उनले बताए । धेरै कैदीबन्दी आँफै सम्पर्कमा आएर कारागार फर्किएका छन् भने चार जनालाई भारतबाट पक्राउ गरिएको उनले बताए । फरार रहेका दुईजनाको पनि प्रहरीमार्फत खोजी कार्य जारी रहेको बताईएको छ ।

बैतडी कारागारमा ५४ जना कैदीबन्दी र ८ जना थुनुवा रहेकोमा भदौ २४ गते राति सबै भागेका थिए । अहिले कारागारमा एक जना थुनुवा थपिएका छन् । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएको कारागारको बन्दी गृहलाई व्यवस्थापन गर्ने कार्य भइरहेको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् । उनले तोडफोड गरिएका सामग्री खरीद गरी व्यवस्थापन गर्ने कार्य भइरहेको बताइन् । २५ जना बस्ने क्षमता रहेको बन्दीगृहमा क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको उनको भनाई छ ।
















