अत्तरिया – २५ वैशाख २०८२ का दिन कैलालीको गोदावरी नगरपालिका–१ ले विजयनगर टोलमा भेला आयोजना ग-यो । वडाको बजेट निर्माणका क्रममा टोल भेला आयोजना गरिएको थियो । झण्डै ५ सय परिवार रहेको विजयनगर र वनखेत टोल समेटेर आयोजना गरिएको भेलामा १० जना मात्रै उपस्थिति थिए । उनीहरूलाई केही फारम भर्न लगाइयो र एकै छिनमा टोल भेला सम्पन्न भयो । भेलामा टोलका समस्या बारे छलफल गर्ने भन्दा पनि प्रक्रिया पुग्ने गरी फारम भरियो र सम्पन्न भयो ।
सोही दिन जित्तलपुर शिविर, उग्रतारा, सैपाल, देउवा र भरपुर टोल समेटेर भरपुरमा टोल भेला आयोजना गरियो जसमा पनि १३ जना सहभागी भएर केही फारम भर्न लगाएर टोल भेला सम्पन्न गरियो । यसरी वडामा न्यून सहभागितामा टोल भेला आयोजना गरेर प्रक्रिया पुगाइने गरेको भए पनि स्थानीयले भने आफ्ना समस्या कहिले सुनुवाइ नहुने गरेको गुनासो गर्दै आएका छन् ।


‘टोल भेलामा गए पनि आफूले उठाएका माग पुरा हुँदैनन्, पछिल्लो समय त टोल भेलाको बारेमा जानकारी दिन समेत छोडिएको छ’ स्थानीय विजयनगरका नरेश विकले भने ‘कहिले टोल भेला भयो के को सहभागी भए केही थाहा भएन ।’
जित्तलपुर शिविरकी फुलमती डगौराले आफ्नो बस्ती ढल निकास नहुँदा वर्षातमा बर्सेनि बस्ती नै डुब्ने गरेको भए पनि आफ्ना माग कहिले नसुन्ने गरिएको बताइन । उनले अत्तरिया बजारको पुरै ढल बस्तीमा पस्ने गरेको बताउँदै उनले गरिब र पहुँच नभएका कारण आफूहरूको सुनुवाइ नभएको बताइन ।
गोदावरी नगरपालिका – १ कै रमेश विकले आफ्नो टोलमा वर्षौँदेखि ढल निकासको समस्या उठाउँदै आएको बताए । उनले पटक पटक टोल भेलामा ढल निकासको समस्या राख्दा पनि हालसम्म सुनुवाइ नभएको बताए । विगत ४/५ वर्ष देखि नियमित टोल भेलामा जाँदै गरेका उनले पछिल्लो समय टोल भेलामा जाने जाँगर पनि हराउँदै गएको बताए । ‘वर्षैनी के के आवश्यकता छन् योजना माग गराउनुस् भनिन्छ तर, हामीले भनेका योजना कहिल्यै पर्दैनन्’ उनले भने ‘वडाका लागि प्रक्रिया पुगाउन मात्रै किन जाने भनेर म यस पटकको टोल भेलामा नै गएन ।’

वडा नम्बर १ मा वैशाख २४ गते देखि २८ गते सम्म टोल भेला आयोजना गरिएका थिए । ती टोल भेलाबाट १४० वटा योजना माग गरिएका थिए । उता वडाध्यक्ष गोपाल दत्त भट्ट भने वडामा सीमित बजेट हुने र धेरै योजना माग हुने हुँदा सबै योजना समेट्न सक्ने अवस्था नभएको बताउछन । ‘वडामा सीमित बजेट हुन्छ । टोल भेलाबाट माग गरिएका सबै बजेट समेट्न सक्ने अवस्था छैन’ उनले भने ‘वडामा नसकिएका योजना केही प्राथमिकताका आधारमा छनोट गरेर नगरमा पठाउने गर्छौ ।’
यस्तै गौरीगंगा नगरपालिका – ६ का पृतम कुँवरले आफूहरूको टोलमा सडक बत्तीको आवश्यकता रहेको भए पनि पटक पटक टोल भेलामा माग गर्दा पनि सुनुवाइ नभएको बताए । उनले टोल भेलामा सडक, नाला, चिल्ड्रेन पार्कको माग पनि पटक पटक गर्दै आए पनि सुनुवाइ नभएको बताए । पछिल्लो २ वर्ष यता भने टोल भेला गरिएको समेत थाहा नहुने गरेको उनको भनाइ छ । ‘टोल भेलामा वडा अध्यक्ष सदस्यले आफ्ना चिनजानका २/४ जना राखेर गर्ने गरेका छन्’ उनले भने ‘यस वर्ष कहाँ टोल भेला गरियो भन्ने बारेमा जानकारी समेत नपाइएको बताए ।
उक्त वडाका वडाध्यक्ष भने टोल भेलाबाट करोडौँका योजना आउने भएकाले कार्यान्वयन गर्नै नसकिने अवस्था रहेको बताउँछन् । ‘टोल भेलाबाट कति योजना आए भनेर साध्य नै छैन’ उनले भने ‘वडामा एक करोड बजेट आउँछ । टोल भेलाबाट आएका सबै योजना समेट्न एक वर्षमै ६०/७० करोड भए पनि पुग्दैन ।’

यी टोल भेला प्रतिनिधिमूलक उदाहरण मात्रै हुन । सङ्घीयतामा जनता सँग प्रत्यक्ष रूपमा जोडिएको वडा सरकारले आयोजना गर्ने टोल भेला पछिल्लो समय प्रक्रिया पुगाउन मै सीमित हुन थालेका छन् ।
वडा सदस्य डबल बहादुर साउँद भने टोल भेला आयोजना गर्न फोन गरेर बोलाउनु पर्ने अवस्था रहेको बताउँछन् । गोदावरी नगरपालिका – २ का वडा सदस्य साउँदले टोल भेलाका लागि सूचना निकालेर सहभागिता थोरै हुने गरेकाले घर घरमा फोन गरेर बोलाउने गरेको बताए । टोल भेलामा मानिसहरूको सहभागिता घट्दो अवस्थामा रहेको उनको भनाइ छ ।
‘टोलबाट आएका सबै योजना समेट्न सम्भव हुँदैन । आएका जतिले योजना माग्ने गर्दा सबै समेट्न गाह्रो हुन्छ’ उनले भने ‘योजनाहरूलाई कतिपय सुझावका रूपमा लिन्छौ । कतिपय प्राथमिकताका आधारमा लिन्छौ ।’ उनले योजना परे मात्रै आउने नत्र नआउने सोच गलत भएको बताए ।
टोल सुधार समिति नै निष्क्रिय
टोल भेला प्रभावकारी बनाउन र स्थानीय सरकारलाई जनता सँग जोड्न गठन गरिएका टोल सुधार समिति पनि निष्क्रिय बन्दै गएका छन् । गोदावरी नगरपालिका – १ मा रहेको विजयनगर टोल सुधार समितिकीका अध्यक्ष विक्रम विकले नगरपालिकामा टोल सुधार समिति दर्ता गरिए पनि आफूहरूलाई कुनै भूमिका नदिएको बताए । उनले कुनै जिम्मेवारी नभएपछि टोल सुधार समिति निष्क्रिय भएको बताए । गोदावरी नगरपालिकाको सामाजिक सुरक्षा शाखाका प्रमुख ज्ञानेन्द्र कुमार भट्टले नगरपालिकामा १ सय टोल सुधार समिति र १ सय कै हाराहारीमा आमा समूह भएको बताए । उनले ती समूहलाई सक्रिय गराउन नसक्दा हाल आधा भन्दा बढी नवीकरण नै नगरी निष्क्रिय रहेको बताए ।
‘हामीहरूले पनि उनीहरूलाई कुनै कार्यक्रम दिन सकेका छैनौ’ उनले भने ‘टोल सुधार समिति विकास निर्माणको तल्लो निकायका रूपमा गठन गरिएको हो । यहाँ अत्तरिया नगरपालिका हुँदा २०७२ देखि नै टोल सुधार समिति गठन गरिएका थिए । तर, अहिले अधिकांश निष्क्रिय भएका छन् ।’ उनले टोल भेलामा मुख्य भूमिका नै टोल सुधार समितिको हुने भए पनि टोल सुधार समिति नै निष्क्रिय भएको बताए ।
खल्तीकै योजनाको वर्चस्व
पालिकाहरुले बनाउने बजेटमा आम सर्वसाधारणको पहुँच पु-याउनको लागि टोल भेलाबाट योजना छनोट गर्नुपर्ने प्रावधान छ । तर, पछिल्लो समय यस्ता भेला प्रक्रिया पु-याउन मात्रै सीमित हुन थालेका छन् । कागजमा बजेट निर्माणका सबै चरण पार गर्ने गरिएको भए पनि व्यवहारमा भने पहुँच र पावरका आधारमा आएका नेताका खल्तीकै योजनालाई प्राथमिकता दिने गरिएको गुनासो व्याप्त छ ।
स्रोतको अनुमान, प्राथमिकता निर्धारण गरेर बजेट निर्माणको तेस्रो चरणमा टोल र वडा भेला आयोजना गरिने भए पनि टोलबाट आएका योजना रद्दीको टोकरीमा फाल्ने गरिएको छ ।
स्थानीय तहमा पनि पहुँचका आधारमा योजना बनाइदा सहभागिता घट्दै गएको गैरसरकारी संस्था महासङ्घ कैलालीका उपाध्यक्ष विनोद कडाराले बताए । ‘योजना छनोटका क्रममा छलफल भए पनि योजना प्राथमिकरण गर्दा जसको पावर छ, जो सत्तामा छ, जसको भनसुन लाग्छ त्यो मान्छेको मात्रै सुनिन्छ’ उनले भने ‘ग्रास रुट लेबलका जनताको आवाज नसुनिँदा उनीहरू आफ्ना कुरा कहिले सुनिदैनन भनेर जनताहरूमा वितृष्ण जागेको छ ।’ उनले सहभागिता घट्दै गएपछि थोरै मान्छे बोलाएर भेला गर्ने क्रम बढेको बताए ।
समाजसेवी दुर्गा कुमार पोखरेलले बाध्य भएर टोल भेला गरे पनि त्यो सीमित व्यक्तिको सहभागितामा सम्पन्न गर्ने गरिएको बताए । उनले सुरुमा यस्ता भेला आयोजना गर्दा गाउँ भरी चर्चा, जानकारी हुने गरेको भए पनि पछिल्लो समय टोल भेला गरेको समेत जानकारी नहुने गरेको बताए । योजना छनोट गर्दा प्राथमिकताका आधारमा भन्दा पनि प्रभावका आधारमा छनोट गरिँदै जाँदा धेरैले चासो समेत नदिने गरेको बताए ।















