बैतडी –जेन–जी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका बैतडीका एक किशोरको उपचारका क्रममा निधन भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–२ मडका १८ वर्षीय दीपकसिंह साउँदको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा साउँदलाई गोली लागेको थियो । उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

यसैबिच शिवनाथ गाउँपालिकाले आइतवार पालिकाभरी शोक बिदा दिएको छ । शिवनाथ–२ मड घर भएका दीपकसिंह साउँदको जेनजी प्रदर्शनको क्रममा घाइते भइ उपचारका क्रममा मृत्यु भएको खबर निकै दुखित तुल्याएको गाउँपालिकाले प्रकाशन गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
साउँदको निधन भएको शोकमा आइतवार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको गाउँपालिकाले जनाएको छ । मृतक साउँदलाई राष्ट्रिय सहिद घोषणा गरि पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गाउँपालिकाले नेपाल सरकारसँग माग समेत गरेको छ ।

















