बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द नगरपालिका – २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा (मेला) का अवसरमा नगरपालिकाभर आईतबार सार्वजनिक बिदा दिइएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै आईतबार नगरभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्थाहरुमा सार्वजनिक बिदा दिईएको जनाएको छ । नगरउपप्रमुख कौशिला चन्दद्धारा हस्ताक्षरित सूचनामा स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र प्रदान गरिएको अधिकार प्रयोग गर्दै एकदिने सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट सुरु भएको अनन्त चतुर्दशी जात्रा आईतबार भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । यो मन्दिरमा अरु जात्रामा सबैभन्दा बढी पशुबलि दिइने गरिन्छ । तर यो जात्रामा भने बलि नभएर विशेष पूजा गरिने वडाध्यक्ष सूर्य बोहराले बताए । यो जात्रालाई बैतडा स्वराडिकी जात्रा पनि भनिन्छ ।
















