अत्तरिया – विद्यालयमा महिनावारी भएका किशोरीहरूको पेट दुखेमा पञ्चाधिन माविका शिक्षकहरूलाई घर पु-याउन भ्याइनभ्याइ हुन्थ्यो । यसरी तत्काल घर जानुपर्दा एकातिर किशोरीहरूलाई झन् पीडा महसुस हुन्थ्यो भने अर्कोतिर पढाई पनि छुट्थ्यो । तर, हाल विद्यालयमा ३ बेडको रेष्ट रुम स्थापना गरिएपछि ती सबै समस्या हटेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ मा रहेको उक्त विद्यालयका प्रधानाध्यापक गणेश दत्त भट्टले रेष्ट रुम निर्माण हुँदा विद्यार्थीहरूलाई तत्काल घर पठाउनुपर्ने बाध्यता हटेको बताए । उनले बिरामी भएका विद्यार्थीलाई मोटरसाइकलमा राखेर एक जना शिक्षकले घर पुगाउनु पर्ने बाध्यता रहेकोमा अहिले त्यो समस्या समाधान भएको बताए । यसरी किशोरीहरूलाई मोटरसाइकलमा राखेर घर लग्दा समाजले पनि नराम्रो दृष्टिले हेर्ने, कुरा काट्ने गरेकोमा विद्यालयमै रेष्ट रुम भएपछि सहज भएको बताए ।


उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा मनीषा भट्टले रेष्ट रुम निर्माण भएपछि आफूहरूलाई निकै सहज भएको बताइन् । उनले महिनावारी भएको बेला, बिरामी हुँदा घर जानुपर्ने अवस्था रहेकोमा अहिले रेष्ट रूपमा बसेर पुन कक्षा कोठामा उपस्थित हुन सहज भएको बताइन् । ‘पेट दुखेमा हट ब्याग प्रयोग गर्ने गरेका छौ । जसले दुखाइ कम गर्न मदत गर्छ’ उनले भनिन ‘अब पहिलेको जस्तो कुनै समस्या भएमा घर जानुपर्ने अवस्था छैन ।’ उनले शौचालयमा पनि प्याड व्यवस्थापन गर्ने सुविधा भएको हुँदा निकै सहज भएको बताइन् ।
विद्यालयमा स्थापना भएको रेष्ट रुम हेर्ने जिम्मा सोही विद्यालयकी शिक्षिका दीपा ओझालाई दिइएको छ । उनले रेष्ट रुम विद्यार्थीहरूका लागि एकदमै प्रभावकारी रहेको बताइन् । उनले विद्यार्थीहरूमा पेट दुख्ने, टाउको दुख्ने सामान्य समस्या देखिएमा रेष्ट रुममा राखेर उपचार पछि कक्षाकोठामा पढ्न पठाउने गरेको बताइन् । ‘रेष्ट रुम स्थापना पछि शिक्षण सिकाइमा सहज भएको छ’ उनले भनिन् ‘रेष्ट रुममा महिनावारी भएको किशोरीहरूले बढी सेवा लिने गरेका छन् ।’ उनले महिनावारी भएको बेला किशोरीहरूको पेट दुख्ने समस्या बढी हुने भएकाले त्यस्ता किशोरीहरूलाई रेष्ट रुममा राखेर सिटामोल लगायतका औषधी दिने हट ब्यागले सेक्ने गरेको बताइन् ।



उक्त रेष्ट रुम र किशोरी मैत्री शौचालय बेसिक फर गल्र्स (विफोरजी) परियोजना अन्तरगत वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले निर्माण गरेको हो । जसमा कृष्णपुर नगरपालिकाले पनि सहयोग गरेको छ ।
एनएनएसडब्ल्यूएका कार्यक्रम संयोजक रामेश्वर जैरुले वर्ड भिजन इन्टरनेसनल र एनएनएसडब्ल्यूएले जनवरी २०२५ देखि कृष्णपुर नगरपालिकाका ५ वटा वडामा बेसिक फर गल्र्स (विफोरजी) कार्यक्रम लागु गरेको बताए । उक्त परियोजना जसअन्तर्गत महिनावारी स्वच्छता, किशोरीहरूको प्रजनन स्वास्थ्यलाई विशेष ध्यानमा राखेर काम गरिरहेको बताए ।
‘यो परियोजनाले समुदायमा लैङ्गिक उत्तरदायित्वको वातावरण तय गर्न खोजेको छ । परियोजना स्वास्थ्य संस्था र विद्यालयमा विशेष गरेर केन्द्रित छ’ उनले भने ‘यो परियोजना अन्तरगत हामीले अहिले ५ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा अगाडी बढाएका छौ । जसमा वडा नम्बर १ मा कालीका मावि, वडा नम्बर २ मा उदय मावि, वडा नम्बर ४ मा समैजी मावि, वडा नम्बर ७ मा राष्ट्रिय मावि र वडा नम्बर ९ मा पञ्चाधिन माविलाई छनोट गरेका छौ ।’
उनले परियोजना अन्तरगत छनोट भएका ५ वटै विद्यालयमा नमुनाका रूपमा महिनावारी हुँदा किशोरीहरूले भोग्नुपर्ने समस्या समाधानका लागि ‘रेष्ट रुम, किशोरी मैत्री शौचालय निर्माण गरिएको बताए ।
‘किशोरी महिनावारी हुँदा पेट दुख्ने लगायतका शारीरिक समस्या कम गर्नका लागि रेष्ट रुम बनाएका छौ’ उनले भने ‘किशोरीहरूका लागि शौचालयमा प्याड व्यवस्थापन गर्न इन्सुलेटरको व्यवस्था गरिएको छ ।’
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा एनएनएसडब्ल्यूएले हाल कृष्णपुरका ५ वडाका १५ विद्यालयमा वाल स्पोन्सरसिप, समावेशी गुणस्तरीय शिक्षा परियोजना पनि सञ्चालनमा रहेको छ । स्पोन्सरसिप परियोजना अन्तरगत बाल संरक्षणका कार्यक्रम, व्यवहारिक सिप सिकाउने र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत विद्यालयका शिक्षकलाई तालिम, विद्यालयमा समावेशी वातावरण बनाउने, संरचनात्मक सुधार् लगायतका काम भइरहेको संयोजक जैरुले जानकारी दिए ।

















