खाेज्नुहाेस

गेटामा प्रशासनिक भवन निर्माण भएको साढे ५ वर्ष पुग्यो, अझै छैन सञ्चालनको टुङ्गो

Image

अत्तरिया – तीन दशक देखि मेडिकल कलेज बन्ने सपना देखेका रजित सिंह धामी विगत एक दशक देखि सपना पुरा हुने आशामा थिए । ढिलै भए पनि मेडिकल कलेजका आलिसान भवन बन्न थालेपछि हौसिएका रजित आइतबार बिहान भने तिनै आलिसान भवन अगाडि झाडी सफा गर्दा निकै निराश देखिन्थे ।

‘पहिले सपना साकार नै हुँदैन जस्तो लाग्थ्यो । पछि भवन बन्न थालेपछि खुसी भएका थियौ । तर, भवन बनेर पनि यस्तो अवस्था हुँदा दुख लागेको छ’ उनले भने ‘म यो ठाउँको पुरानो मान्छे हो । बनेका भवनको यस्तो अवस्था देखेपछि दुःख लागेर झाडी सफा गर्न आएको हुँ ।’ रजित आइतबार बिहान सरकारले २०७९ माघ २९ गते घोषणा गरेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रशासनिक भवन अगाडि झाडी सफा गर्दै थिए । तत्कालीन मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका अनुसार जुन भवन २०७१ साल असार १९ गते देखि निर्माण सुरु भएर २०७६ साल फागुन ११ गते सम्पन्न भएको थियो ।

attariya hospital

उक्त भवन हाल गेटामा निर्माण भएका भवनमध्ये सबैभन्दा पुरानो हो । उक्त भवन निर्माण सम्पन्न भएको साढे ५ वर्ष बितिसक्दा पनि सञ्चालनमा नआउँदा अहिले भवन चारैतिरबाट झाडीले घेरिएको छ भने भवनको आँगनमा कंकिृट ब्लक बिछ्याइएको भए पनि त्यसमाथि घाँस उम्रिसकेको छ । तर, भवन यस्तो अवस्थामा हुँदा पनि न अहिले त्यहाँ कसैले रेखदेख गरिरहेको छ न अझै सञ्चालनको तिथि मिति नै तोकिएको छ ।

गेटामा मेडिकल कलेज स्थापना गर्ने चर्चा २०४८ सालदेखि  चलेको थियो । जसअनुसार २०४९ सालमा तत्कालीन शङ्कराचार्यको अगुवाइमा सम्भाव्यता अध्ययनको काम प्रारम्भ भएको थियो भने २०५६ सालमा शङ्कराचार्य मेडिकल कलेजको प्रशासनिक भवनको शिलान्यास गरेका थिए । तर, पछि शङ्कराचार्य ब्याक भएर तुहिएको योजनालाई पुनः अगाडि बढाउन सरकारले २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको थियो ।

२०७९ असार २६ गते शिक्षा तथा स्वास्थ्य समितिले गरेको अनुगमन प्रतिवेदन अनुसार २०६६ सालमा पूर्वाधार निर्माण समिति गठन गरेर २०७०/०७१ देखि भौतिक संरचना निर्माणको काम सुरु भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा सञ्चालनको लक्ष्य लिइएको मेडिकल कलेजका आवश्यक भौतिक संरचना निर्माणमा ढिलाइ हुँदा उक्त लक्ष्य २०७८/७९ मा सारिएको थियो । सारिएको लक्ष्यमा आवश्यक संरचना बने पनि प्रारूप, ऐन, कानुनमा गिजोलिएको मेडिकल कलेज हाल सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

navjiwan hospital

तत्कालीन पूर्वाधार निर्माण विकास समितिका अनुसार मेडिकल कलेजका मुख्य संरचना कलेज भवन २०७७ मङ्सिर १५ गते, अस्पताल भवन (३ सय शय्या) २०७८ असार ११ गते, होस्टेल २०७८ असार १३, डाक्टर क्वाटर २०७९ वैशाख १ गते निर्माण सम्पन्न भएका थिए । हाल अस्पताल भवनमा ५० शय्याको अस्थायी अस्पताल सञ्चालनमा रहे पनि अन्य संरचना भने प्रयोग विहीन छन् । ती भवनहरूमा सम्पूर्ण काम सकेर एसी समेत जडान गरिएका छन् भने बाहिरबाट ताला लगाइएको छ । भवनको आँगन र वरिपरि झाडी उम्रिएको छ ।

जुन झाडी आइतबार बिहान साङ्केतिक रूपमा दबाव दिन आइतबार बिहान सहिद दशरथ चन्द स्थापनार्थ सङ्घर्ष समितिको नेतृत्वमा सफाइ गरिएको थियो । जुन समिति २०७९ जेठ ११ गते घोषणा गरिएको थियो ।

सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले आन्दोलनकै कार्यक्रम अन्तरगत साङ्केतिक रूपमा दबाब दिन विश्वविद्यालय परिसरमा झाडी सफाइ गरिएको बताए । उनले विश्वविद्यालय परिसरमा झाडी उम्रिएर कुरूप बनेको बताए ।

सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले एप्रोन लगाएका विद्यार्थीहरू पढ्न सुरु नगर्दा सम्म आफूहरूको सङ्घर्ष जारी रहने बताए । उनले विश्वविद्यालय अन्तरगत रहने अस्पताल ५० शय्याको मात्रै रहेकाले अस्पतालको क्षमता तत्काल ३ सय शय्या विस्तार गरेर यसै वर्ष देखि चिकित्सा शिक्षा अध्यापन गराउनु पर्ने बताए ।

सङ्घर्ष समितिका सदस्य विनोद विष्टले सरकारले ऐन बनाए पनि त्यसको कार्यान्वयनमा बेवास्ता गरेको बताए । उनले ऐन पारित भएको २ महिना पुग्दा पनि विश्वविद्यालयको प्रशासनिक टिम नै नियुक्ति गर्न बेवास्ता गरेको बताए । छाडी सफाइमा सहभागी स्थानीयले राज्यको उदासीनताका कारण लामो समय देखि तयार भएका संरचना जीर्ण बनिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।