अत्तरिया – छाउपडी कुप्रथा कायमै रहेका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न चुनौती थपिएको छ । जिल्लाकै पहिलो बालमैत्री शासन वडा घोषणा गर्न वल्र्डभिजन इंटरनेशनलको सहयोगमा नगर र वडा सँगको समन्वयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले बालमैत्री शासन वडा घोषणा गर्न ५१ वटा सूचकमा काम गर्दै आएको छ । २०८३ चैत सम्म बालमैत्री शासन वडा घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिए पनि जरा गाडेर बसेको छाउपडी कुप्रथा अझै व्याप्त रहँदा चुनौती बढेको हो ।
नेपाल सरकारले २०८७ सम्ममा सबै पालिकालाई बालमैत्री बनाउने लक्ष्य लिएर ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ ल्याएको छ । निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका ५१ वटा सूचक मध्ये धेरै सूचकमा काम सम्पन्न भए पनि छाउपडी कुप्रथा हटाउन निकै चुनौती रहेको एनएनएसडब्लुएका बाल संरक्षण अधिकृत गणेश भुलले बताए ।

छाउपडी व्याप्त रहेको उक्त वडामा असार अन्तिम साता छाउगोठमा सर्पले टोकेपछि कमला दमाइको मृत्यु भएको थियो । त्यसपछि हाल वडामा छाउगोठ भत्काउने अभियान सँगै सचेतनाकाका कार्यक्रम सञ्चालन गरिएको छ ।
परियोजनाका संयोजक रामेश्वर जैरुले बालमैत्री शासन वडा घोषणा गर्न राम्रो प्रगति हुँदा हुँदै पनि छाउपडी कुप्रथा मुख्य बाधा बनेको बताए । उनले छाउपडी कुप्रथा अन्त्य नगर्दा सम्म वडालाई बालमैत्री शासन वडा घोषणा गर्न नसकिने भएकाले यसका लागि स्थानीय सरकार, स्थानीय राजनीतिक दल, सामाजिक अगुवा, सञ्चारकर्मी सबै मिलेर पैरवी गर्नुपर्ने बताए । ‘बालमैत्री शासन वडा घोषणा गर्न तगारोको रूपमा, बाधाको रूपमा ठुलो समस्या छाउपडी कुप्रथा छ’ उनले भने ‘हामीले कञ्चनपुरकै पहिलो बालमैत्री शासन वडा घोषणा गर्ने योजना गर्न गइरहँदा यस्तो समस्या देखिएको छ । छाउगोठमै एक जनाको ज्यान गएपछि अहिले यो वडा झन् अन्तर्राष्ट्रिय स्तरमा चिनिएको छ । त्यसैले यहाँबाट छाउपडी कुप्रथाको मुद्दालाई पनि राष्ट्रिय स्तरमा लगेर यसलाई हटाउनु पर्छ ।’

वर्ड भिजनका प्रतिनिधि सुरज शर्माले कृष्णपुर नगरपालिकाकै गौरवको योजनाका रूपमा वडा नम्बर १ लाई बालमैत्री शासन वडा घोषणा गर्ने कार्यक्रम सञ्चालन गरिए पनि छाउपडी कुप्रथाले कार्यक्रममा बाधा पुगिरहेको बताए । उनले छाउपडी कुप्रथा हटाउन हाल बडाका विभिन्न ठाउँमा होर्डिङ बोर्ड राख्ने, सडक नाटक देखाउने लगायतका काम पनि भइरहेको बताए ।

वडाध्यक्ष मोहन बस्नेतले संस्थाको सहजिकरणमा वडामा बालमैत्री शासन वडा घोषणा गर्न काम भइरहेको बताए । उनले छाउपडीका कारण हाल वडा कै बेजत्ति भएकाले यसलाई अन्त्य गर्न सबैको हातेमालो हुन आवश्यक रहेको बताए । उनले बालमैत्री शासन वडा घोषणा गर्नु सानो काम नभएको बताउँदै यसमा अभिभावक पनि जिम्मेवार बन्नुपर्ने बताए । ‘यो सानो काम होइन । यो सामान्य विकास भन्दा पनि महत्वपूर्ण कार्यक्रम हो’ उनले भने ‘बालबालिका नै वडा, नगरका गहना भएकाले यसमा सबै जिम्मेवार बन्नुपर्छ ।’ उनले छाउगोठमा सर्पले टोकेपछि वडाको छाउपडी कुप्रथाको चर्चा भए पनि वडाले यसअघि देखि नै छाउपडी कुप्रथा हटाउन काम भइरहेको बताए ।
कृष्णपुर नगरपालिकाले उपमेयर द्रोपती रानाले वडा नम्बर १ नगरकै दुर्गम क्षेत्र भएकाले बालमैत्री स्थानीय शासनका लागि छनोट गरिएको बताइन् । उनले वडा नम्बर १ बालमैत्री शासन वडा घोषणा भए अन्य वडाहरु पनि घोषणा गर्न सहज हुने बताइन् । वडामा हाल ४ वर्षे रणनीतिक कार्य योजना नै बनाएर बालमैत्री शासन वडा बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
सम्बन्धीत समाचार : काल सँगै सुत्छन् छाउगोठमा महिला


















