अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगर अस्पताल निर्माण गर्न २०७८ साल जेठमा ठेक्का सम्झौता भयो । तत्कालीन नगरपालिकाका मेयर कर्ण बहादुर हमालले अस्पताल निर्माणका लागि तत्कालीन परशुराम नगरपालिकाका मेयर भीम साउँदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा सँग ठेक्का सम्झौता गरे । जुन २०७७ साल मंसिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एकसाथ शिलान्यास गरेका ३ सय ९६ वटा अस्पताल भित्र पथ्य्रो ।
ठेक्का सम्झौता नहुँदै केन्द्रबाट शिलान्यास भएको अस्पताल पछि विभिन्न त्रुटि देखिएको भन्दै अहिलेसम्म योजना नै अलपत्र परेको छ । निवर्तमान मेयर हमालले ठेकेदारले काम सुरु गर्न ढिलाइ गरेकाले आफ्नो कार्यकालमा काम गर्न नसकेको बताउँदै आएका छन् भने वर्तमान मेयर हेम राज ओझाले आफूले ठेकेदार सम्पर्कमा ल्याएर काम सुरु गर्न खोजे पनि डिपीआर नै त्रुटिपूर्ण बनाएकाले काम गर्न नसकेको बताउने गरेका छन् । हाल एकले अर्कोलाई आरोप प्रत्यारोप लगाइरहँदा अस्पताल बनाउने योजना भने कागजमै सीमित बन्न पुगेको छ ।


निवर्तमान मेयर हमालले आफूले अस्पतालका लागि योजना अगाडि बढाउँदा देखि नै अहिलेका मेयर ओझाले अवरोध गर्दै आएकोमा हाल आफू मेयर बनेपछि अस्पताल नै अलपत्र पारेको आरोप लगाए । ‘मेरो कार्यकालमा १५ शैय्याको २ वटा अस्पताल कृष्णपुर स्वास्थ्य चौकी र रैकवार विचवा स्वास्थ्य चौकीमा निर्माण गर्ने भनेर विधि प्रक्रिया सबै गरेर सम्झौता भएको थियो । पछि ठेकेदारले २०७९ मा निर्माण सामग्री पनि फाल्नुभएको थियो । त्यस क्रममा हाम्रो कार्यकाल सकियो’ उनले भने ‘अहिले नगरप्रमुख विभिन्न बहानाबाजी गरिरहनु भएको छ । कहिले जग्गा धनी पुर्जा नभएर बनाउन सकिएन भन्नु हुन्छ । कहिले ठाउँ अभाव भयो भन्नु हुन्छ रे । कहिले डिपीआर फेक भयो भन्नुहुन्छ रे । त्यसो हो भने त त्यति बेलाका कर्मचारी त्यही छन् । सोधे भइहाल्थ्यो । तर वहाँ त्यतिकै बखेडा झिकिरहनु भएको छ । बनाउनु नै थिएन भने एक करोडका संरचना किन फालियो ?’
उनले तत्कालीन समयमा कृष्णपुर स्वास्थ्य चौकी प्राङ्गणमा ठाउँ पर्याप्त नहुने भएकाले वनदेवी वनको क्षेत्र र रैकवार विचवा स्वास्थ्य चौकीमा बनाउने भनिएको अस्पताल त्यहाँ पनि ठाउँ पर्याप्त नभएकाले वडा नम्बर ७ को वडा कार्यालय क्षेत्रमा बनाउने निर्णय गर्दा त्यति बेला पनि अहिलेका मेयरले नै भाँजो हालेको बताए ।
उनले कार्यसमितिमा आफूले बहुमत पुगाउन नसकेपछि कृष्णपुर स्वास्थ्य चौकी प्राङ्गण र रैकवार विचवा स्वास्थ्य चौकीमा अस्पताल बनाउने निर्णय गर्नुपरेको बताए । ‘केन्द्रबाट पुराना स्वास्थ्य चौकी भएको ठाउँमा बनाउने कार्यादेश आएको छ, वहाहरुले बाहिर बनाउँदै हुनुहुन्छ भनेर त्यति बेला अवरोध गर्छौ, मुद्दा हाल्छौ भनेपछि ब्याक भएर कार्यपालिका निर्णय नै फेर्नुपर्ने अवस्था आयो’ उनले भने ‘त्यसपछि हामीले कृष्णपुर स्वास्थ्य चौकी, रैकवार विचवा स्वास्थ्य चौकीमै १५ शैय्याकै अस्पताल बनाउन डिपिआर गरेर प्रक्रियामा गएर ठेक्का सम्झौता गरेका थियौ ।’


उनले रैकवार विचुवामा एक जनाले जग्गा दान गरेपछि जग्गा बनाउने सुनिश्चितता भएको र कृष्णपुर स्वास्थ्य चौकीमा पुरानो एउटा स्वास्थ्य चौकी भवन र शौचालय भत्काएर नयाँ बनाउने गरी प्रक्रिया अगाडि बढाएको बताए । उनले अहिले नभत्काउनु पर्ने भवन पनि अन्धाधुन्ध भत्काएर अलपत्र पारिएको बताए । फिल्डमा भएको जग्गा भन्दा डिपिआर बनाइएको भवनको नक्सा २ मिटर लामो भएको भन्ने प्रश्नमा उनले डिपिआर अनुसार जग्गा नपुगेको भए किन अगाडि नै भएका भवनहरू पनि भत्काइयो भनेर प्रतिप्रश्न गरे । उनले डिपिआर गलत भए अहिले पनि आफ्नो पालाका कर्मचारी योजना लगायतका शाखामा कार्यरत भएकाले बुझ्नुपर्नेमा अनावश्यक बखेडा झिकिरहेको बताए ।

वर्तमान मेयर ओझाले भने यसअघि आवश्यक प्रक्रिया नपु¥याइ ठेक्का गरेकाले नगर अस्पताल बन्न नसकेको बताए । ‘स्वास्थ्य मन्त्रालयमा ११ कट्ठा जग्गा देखाउनुपर्ने, डिपिआर पनि स्वास्थ्य मन्त्रालयमा रजिस्टर गर्नुपर्ने प्रावधान रहेछ । तर, ती दुवै कुरा नभएको देखियो’ उनले भने ‘एक नगरपालिकामा एक नगर अस्पताल मात्रै दिने प्रावधान भए पनि रैकवार विचवामा पनि ठेक्कामा दिने काम मात्रै भयो । यहाँ (कृष्णपुर स्वास्थ्य चौकी) जग्गा भन्दा डिपिआर २ मिटर लामो भएकाले नगर अस्पताल बन्न सकेन । अर्को डिपिआर गर्न नसकिने अवस्था छ ।’
उनले अहिले पनि ठेकेदारले साइड माग गर्दै पत्र पठाउने गरेको बताए । ठेक्का तोड्न पनि ठेकेदारले दाबी क्लेम गर्ने भएकाले नगरपालिकाले उल्टै ठेकेदारलाई क्षतिपूर्ति तिर्नुपर्ने हुन सक्ने भएकाले त्यसो गर्न नसकिएको बताए । उनले अन्य ठाउँमा जग्गा खोज्ने काम चलिरहेको भए पनि जग्गा प्राप्तिको काम हुन नसकेको बताए । उनले हाल कृष्ण माविको खालि जग्गामा अस्पताल बनाउने विषयमा पनि प्रस्ताव गरेको बताए ।
उनले आफ्नो कार्यकालमा काम गर्न ढिलाइ भएको भन्दा पनि आफ्नो कार्यकालमा यसअघि भएको त्रुटि पत्ता लागेको बताए । उनले भने ‘हामीले ठेकेदारलाई काम गर्न ताकेका ग¥यौ । तर, सुरुमै त्रुटि भेटिएपछि काम रोकियो ।’ उनले ठेकेदारलाई पेस्की लगेको ५६/५७ लाख फिर्ता गरेर सहमतिमै ठेक्का ब्रेक गर्ने विषयमा पनि छलफल भइरहेको बताए । उनले पुरानो ठेक्का ब्रेक गरेर पनि फेरी नयाँ ठेक्काबाट बनाउन सकिने बताए ।
अस्पताल निर्माणका लागि ठेकेदार कम्पनी सँग ६ करोड ९९ लाख ७३ हजार ६७६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८० जेठ ४ भित्र काम सक्नुपर्ने थियो । तर कृष्णपुर नगरपालिकाका निवर्तमान, वर्तमान मेयर र ठेकेदार कम्पनीका मेयरको राजनीतिक भुमरीमा परेको अस्पतालको हालसम्म जग खन्ने काम समेत हुन सकेको छैन ।

















