दार्चुला– दार्चुलामा वनलसुन सहित एक महिला पक्राउ परेकी छन । जिल्लाको नौगाड गाउँपालिका– ४ सिप्टी बस्ने ३१ वर्षिया धाना धामीलाई वनलसुन सहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले हिमाली जडीबुटी वन लसुन भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा धामीलाई पक्राउ गरिएको बताए ।


उनका अनुसार सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । सोमबार बेलुकी प्रहरीले धामीको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको रावतले बताए । उनका अनुसार सङ्कलन पुर्जी (अनुमति पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुनसहित ती महिलालाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ती महिलालाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने प्रहरी निरीक्षक रावतले बताए । यता डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले राजस्व दाखिला गरी सङ्कलन अनुमति लिएर मात्रै वन लसुनको सङ्कलन तथा ओसारपसार गर्न पाइने बताए ।


















