बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा करिब ढाई करोडको लागतमा ६ वटा नयाँ वडाकार्यालय भवनहरु निर्माण गरिएको छ । गाउँपालिकाले गत आर्थिक वर्षसम्म ६ वटा वडाका नयाँ वडाकार्यालय भवनहरु निर्माण सम्पन्न गरेको हो ।

कुल ८ वटा वडा रहेको उक्त गाउँपालिकाले बाँकी रहेका २ वटा वडाका पनि चालु आर्थिक वर्षमा नयाँ भवन निर्माण गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले पालिकाका ६ वटा वडाको नयाँ भवन निर्माण कार्य सकिएको बताए । उनका अनुसार ६ वटा वडाका भवन निर्माणका लागि २ करोड ४८ लाख रुपैया लागत लागेको छ । जसमा वडा नं २ को भवन निर्माणमा ३० लाख, वडा नं ३ को भवन निर्माणमा ४० लाख, वडा नं ४ को ४५ लाख, वडा नं ५ को ३५ लाख, वडा नं ६ को ५० लाख र वडा नं ७ को भवन निर्माणमा ४८ लाख रुपैयाँ लागत लागेको गाउँपालिका अध्यक्ष कार्किको भनाई छ ।

उनले पुराना तथा जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या भएपछि गाउँपालिकाले वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताए । गाउँपालिकाले वडा नं. १ र ८ को भने चालु आर्थिक वर्षमा वडा भवन निर्माण गर्ने योजना बनाएको गाउँपालिका का अध्यक्ष कार्किले बताए । १ करोड ३० लाख रुपैयाँ लागतमा गाउँपालिकाको नयाँ भवन निर्माण गरिएको थियो । वडा कार्यालयका भवनहरु नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ । वडा कार्यालयहरुमा इन्टरनेट सुविधा भएपछि पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै अनलाइनबाट गर्न सहज भएको बताइएको छ ।
















