खाेज्नुहाेस

बैतडीमा छापिएका २० हजार राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्किए

Image

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडी छापिएका २० हजार राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्किएका छन । आवेदन भरिसकेका व्यक्तिहरुको असार मसान्तसम्म २० हजार ७२५ राष्ट्रिय परिचयपत्र छापिएर जिल्ला प्रशासनमा आएपनि सेवाग्राहिले नलग्दा जिल्लाको राष्ट्रिय परिचयपत्र कार्यालयको परिचयपत्र व्यवस्थापन शाखामा थन्किएका हुन ।

कार्यालयबाट अहिलेसम्म ४ हजार ३१२ जनाले मात्र राष्ट्रिय परिचयपत्र लिएर गएको राष्ट्रिय परिचयपत्र शाखाका विवरण दर्ता अपरेटर मोहन लुहारले बताए । उनले छापिएर आएका राष्ट्रिय परिचयपत्र बुझ्न दिनमा पाँच–छ जना मात्र आउने गरेको बताए । आवेदन विवरण दर्ता गर्न दैनिक ७० देखि ८० जना आएपनि बुझ्ने धेरै कम आउने गरेको उनले बताए ।

attariya hospital
navjiwan hospital

जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि १ लाख ३३ हजार ४ जनाको विवरण संकलन गरिएको छ । बैंकले खाता खोल्दा र पेन्सन खाता नवीकरण गर्दा मात्र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अनिवार्य गरेको छ । अन्य काममा राष्ट्रिय परिचयपत्रको नम्बर भए पनि काम चल्ने भएकाले छापिएर आएका परिचयपत्र नबुझेको अपरेटर लुहारले बताए ।

सरकारले सामाजिक सुरक्षा भत्ता, बालबालिकाको पोषण भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । परिचयपत्रको कार्ड नै नचाहिने तर नम्बर भए पनि नवीकरण गर्न सकिने भएकाले बुझ्नेको संख्यामा कमी आएको देखिन्छ ।

राष्ट्रिय परिचयपत्र छापिएर आइसकेपछि सम्बन्धित व्यक्तिको मोबाइलमा संकलन गर्नु भनेर सन्देश जान्छ । जनशक्ति अभावसँगै उपकरणको समस्याले गर्दा स्थानीय तहबाट विवरण संकलन र वितरण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।