अत्तरिया – कैलालीको अत्तरिया बजारमा सडकमै फोहोर फाल्ने क्रम अझै रोकिन सकेको छैन । बजार क्षेत्रका पसलबाट दैनिक फोहोर उठाइने गरिएको भए पनि केही व्यापारीहरूले सडकमै फोहोर फाल्ने गरेका छन् । अत्तरियाको पहाड रोड र महेन्द्रनगर रोडका केही व्यसायीहरुले नगरपालिकाको फोहोर उठाउने गाडिलाई दिनुको साटो साँझको समयमा सडकमा फोहोर फाल्ने गरेका कारण बजार नै कुरूप देखिने गरेको छ ।
यसरी मनोमानी तरिकाले सडक तथा नालामा फोहोर फाल्दा नगरपालिका भने मौन बस्ने गरेको छ । अत्तरिया बजार क्षेत्रमा गोदावरी नगरपालिका सँग भएको सम्झौता अनुसार मातृभूमि समाज प्रालिले फोहोर उठाउँदै आएको छ । मातृभूमि समाज प्रालिका सञ्चालक गोविन्द रावलले बजार क्षेत्रमा शनिवार बाहेक दैनिक रूपमा फोहोर उठाउने गरेको भए पनि सडकमा फोहोर फाल्ने क्रम नरोकिँदा सरसफाइ गर्न समस्या भएको बताए ।


‘हामीले घर, तथा पसलमा जम्मा गरेर राखेको फोहोर उठाउने गरेका छौ’ उनले भने ‘तर, केही व्यापारीहरूले फोहोर जम्मा नगरेर साँझको समयमा सडकमै फालिदिने गरेका छन् । उनीहरूले यसरी सार्वजनिक ठाउँमा फोहोर फाल्दा कारबाही गरिएको भए यो समस्या कम हुन्थ्यो ।’

उनले महेन्द्रनगर रोडको सडकमा फोहोर नफाल्न पटक पटक आग्रह गर्दा पनि व्यापारीहरूले नटेरेको बताए । ‘यहाँका व्यापारीहरूलाई सम्झाउँदा सम्झाउँदा हामी थाकिसकेका छौ । पसलमा भएको फोहोर पसलमै राखिदिनुस् भनेर पनि सकैले मान्दैनन्’ उनले भने ‘यहाँ साँझको समयमा ठेला लगाउने र घर जाँदा सडकमै फोहोर फाल्ने गरेका हुन्छन् । त्यसैमा केही सटरमा व्यापार गरेकाहरूले पनि फोहोर फाल्ने गर्दा बजार फोहोर देखिन्छ ।’

उनले नगरपालिकाले यसरी फोहोर फाल्नेलाई कारबाही गर्नुपर्ने बताए । ‘चोकमै बसेका प्रहरीलाई भन्दा यो काम पालिकाको हो भन्छन् । पालिकालाई भन्यो भने तपाइहरू सम्झाउनुस् भन्छन्’ उनले भने ‘हामी सम्झाउँदा सम्झाउँदा थाकिसक्यो । हामीले भनेको कोही मान्दैनन् ।’ उनले सम्झाउन गए ठुलाठूला कुरा गर्ने भए पनि व्यवहारमा भने उल्टो गर्ने गरेको बताए । कारबाही नगर्दा सम्म यसमा सुधार नआउने उनको भनाइ छ ।

उनले अत्तरिया बजार क्षेत्र भन्दा पनि गोदावरी नगरपालिकाको गाउँमा फोहोर व्यवस्थापनको काम राम्ररी हुने गरेको बताए । ‘गाउँमा सबैले फोहोर घरमा संकलन गरेर राख्छन् । हामीले उक्त फोहोर संकलन गर्ने गरेका छौ’ उनले भने ‘बजारमा डस्टबिन राखे पनि गायब हुन्छन् । सडकमा नफाल्न भने कोही मान्दैनन् ।’ उनले गोदावरी नगरपालिकाको फोहोर उठाउन ७ वटा ट्याक्टर प्रयोग गर्ने गरिएको बताए ।

किन हुँदैन कारबाही ?
कारबाही नहुँदा जताततै फोहोर फाल्ने गरिएको भए पनि कारबाही भने हुने गरेको छैन । जसले गर्दा फोहोर जताततै फाल्नेको मनोबल बढेको अत्तरियाका स्थानीय रमेश विक बताउछन । गोदावरी नगरपालिका फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख प्रमल महराले भने कारबाहीका लागि जरिवाना तोकिएको भए पनि जनशक्ति अभावका कारण कार्यान्वयनमा समस्या भएको बताए । उनले ४ जना मात्रै नगर प्रहरी भएकाले सबै ठाउँमा निगरानी राख्न नसकिएको बताए ।
‘५ सय देखि ५० हजार सम्म हामीले जरिवाना तोकेका छौ’ उनले भने ‘हामीले अहिले सम्म १/२ जनालाई कारबाही गरे पनि वृहत् रूपमा यसलाई कार्यान्वयन गर्न सकेका छैनौ । हामीसँग जनशक्तिको अभाव भएका कारण समस्या भएको छ ।’ उनले साँझ र रातीको समयमा जताततै फोहोर फाल्ने गरिने भएकाले उक्त समयमा निगरानी गर्न नसकिएको बताए ।

उनले फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि यसमा व्यापक सुधार आउने आफूहरूले अपेक्षा लिएको बताए । ‘फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि ठाउँ ठाउँमा डस्टबिन राख्ने, जताततै फोहोर फाल्नेलाई निगरानी गर्ने, कारबाही गर्ने तयारी गरेका छौ’ उनले भने ‘फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन हुन्छ ।’ उनले साउन अन्त्य सम्ममा फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।
अत्तरिया बजारमा जताततै फोहोर फाल्नेलाई कारबाही नगरिँदा अहिले ढक्कन फुटेर खुल्ला बनेका नालामा पनि फोहोर फाल्ने गरिएको छ । जसले गर्दा नालामा पानीको निकास नै रोकिएर बजार क्षेत्रमा डुबान हुने गरेको छ । सुदूरपश्चिम प्रदेशकै केन्द्रमा रहेको अत्तरिया बजारमा अझै पनि उचित फोहोर व्यवस्थापन नहुँदा कुरूप बनेको छ ।















