अत्तरिया – २०६९ माघ ४ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले भीमदत्त पन्त संघारी सामुदायिक वन उपभोक्ता समितिले संरक्षण र सम्बर्द्धन गरिरहेको ५१.८ हेक्टर जग्गा तत्कालीन मेडिकल कलेज विकास पर्वद्धन समितिलाई हस्ताक्षर ग-यो । उक्त जग्गा मेडिकल कलेज बनाउन २०५६ सालमा शंकर मेडिकल एण्ड रिसर्च सेन्टर (संकाराचार्य) लाई दिइएको भए पनि उनले काम गर्न नसकेपछि पुनः वनले संरक्षण गर्दै आएको थियो । पछि नेपाल सरकारले आफै मेडिकल कलेज बनाउने भन्दै संकाराचार्यलाई दिएकै जग्गा तत्कालीन मेडिकल कलेज विकास प्रवद्र्धन समितिलाई भोगाधिकारका लागि उपलब्ध गराएको थियो ।
तर, हालको गोदावरी नगरपालिका – ५ र साबिकको गेटा गबिस वडा नम्बर २ र ५ मा पर्ने ४ कित्तामा विभाजित उक्त जग्गा मध्ये २ कित्ताको ४.७४ हेक्टर जग्गा अतिक्रमणमा परेको छ । साबिकको वडा नम्बर ५ को कित्ता नम्बर १ को ३.६ हेक्टर जग्गा ४१ मुक्त कमैया परिवारले अतिक्रमण गरेका छन् भने साबिकको वडा नम्बर २ को कित्ता नम्बर ६ को १.१४ हेक्टर जग्गा विभिन्न व्यक्ति र संस्थाका नाममा अतिक्रमण गरिएको छ । उक्त जग्गामा हाल व्यक्तिका नाममा लालपुर्जा लिने देखि लिएर सुकुम्वासीलाई सोही ठाउँमा जग्गा उपलब्ध गराउन गुपचुप नापी गर्ने काम चलिरहेको छ । ५१.८ हेक्टर मध्ये ४७.०६ हेक्टरमा संरचना निर्माण गरेर नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी चलिरहँदा अतिक्रमणमा परेको जग्गा भने व्यक्तिका नाममा हत्याउन चलखेल भइरहेको छ ।



तत्कालीन मेडिकल कलेज विकास प्रवद्र्धन समितिले जग्गाको भोगचलन लिएपछि २०७१ सालमा समितिको नाम गेटा मेडिकल कलेज पूर्वाधार समिति राखेर २०७३ साल देखि भौतिक संरचना निर्माण सुरु गरिएको थियो । सो बेला विवाद हुने र काम रोकिने डरले अतिक्रमणमा परेको ४.७४ हेक्टर जग्गा बाहेकका क्षेत्रमा मात्रै निर्माणको काम अघि बढाइएको थियो । तर, हाल सुकुम्वासी परिवारले अतिक्रमण गरेको उक्त जग्गामा नगरपालिकाको टोलीले नाप्न थालेपछि विवाद सतहमा आएको हो । तत्कालीन मेडिकल कलेज विकास प्रवद्र्धन समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले निर्माण सुरु गर्नु पूर्व अतिक्रमण हटाउने धेरै प्रयास गर्दा पनि नसकिएपछि अतिक्रमण नहटाएरै काम सूरु गरिएको बताए ।
‘उतीबेला खोला वारी र खोला पारी भएकाले पनि घेरबार गर्न सकिएन । त्यहाँ एकातिर एक जना ठेकेदारले ढुङ्गा गिट्टी बालुवाको ठुलो चाङ बनाएर राखेका थिए भने अर्कोतिर सुकुम्वासी बस्ती बसेको थियो’ उनले भने ‘हामीले हटाउन समितिबाट धेरै पटक निर्णय पनि ग¥यौ । सिडिओ कार्यालय, भूमिसुधार कार्यालयमा धेरै पटक पत्राचार पनि ग¥यौ तर, कसैले सहयोग गरेनन् । राजनीति दलका प्रतिनिधिले पनि सुकुम्वासी बस्ती हटाउन चाहेनन् । पछि हामीलाई काम गर्न नदिने जस्तो परिस्थिति बनेपछि मैले काममा व्यवधान हुनुभन्दा पहिले खाली ठाउँमा काम गर्दै गरौँ भन्ने भयो ।’

उनले हाल मुक्त कमैया बसेको ठाउँमा ट्रमा सेन्टर र ढुङ्गा गिट्टी बालुवा राखिएको ठाउँमा अडोटोरीयम बनाउने गरी प्लानिङ गरिएको बताए । उनले ढुङ्गा गिट्टी बालुवा राखेको जग्गा पनि केही स्थानीय नेता सहित सुकुम्वासी बस्तीका ११ जनाले आफ्नो भएको दाबी गर्दै अदालतमा मुद्दा समेत हालेको बताए । सर्वोच्चमा पुगेको मुद्दाको फैसला मेडिकल कलेजकै पक्षमा भएपछि एकातिरको जग्गाको विवाद भने सकिएको उनले बताए । यद्यपि हाल पनि उक्त जग्गामा ढुङ्गा गिट्टी बालुवा राखिएका छन् भने पछाडि निर्माण गरिएका संरचना पनि हटाइएका छैनन् ।

गेटा मेडिकल कलेजको जग्गामा बसेका ४१ परिवारले गोदावरी नगरपालिका मार्फत भूमि समस्या समाधान आयोगको भूमिहीन सुकुम्वासीको फारम भरेका छन् । तत्कालीन वडाध्यक्ष कर्ण सिंह बोहराले सुकुम्वासी बसेको बस्ती गेटा मेडिकल कलेजको भएकाले आफूहरूले सेतो फारम भराएको बताए । उनले सेतो फारम भराएकाहरूले राज्यले दिएको ठाउँमा बस्नुपर्ने बताए ।

तर, बिहीबार गोदावरी नगरपालिकाको नापी टोलीले उनीहरूले भोगचलन गरेको जग्गाकै नापी गरेको छ । नापी शाखाका रघुनाथ जोशीले कार्यालयबाट नापी गर्न पठाएपछि फिल्डमा नापी गरिएको बताए । उक्त वडाका अन्य क्षेत्रमा एक वर्ष अघि नै नापी भएको भए पनि सुकुम्वासी टोल छुटेकाले नापी गरिएको उनले बताए ।
हालका वडाध्यक्ष शुद्धिराम चौधरीले भने नापी भएको बारेमा आफूलाई जानकारी नभएको बताए । उनले नगरबाट नापी टोली आएको भए पनि आफू सँग कुनै समन्वय नभएको बताए ।
सुकुम्बासी भन्छ्न ‘आश्वासन मात्रै पायौं’
उक्त बस्तीमा यसअघि नापी टोली गएको भए पनि नापी टोली लखेटिएको स्थानीय बताउँछन् । सुकुम्वासी टोलमा बस्दै आएकी प्रतिमा चौधरीले चुनाव अघि सबैजसो नेताले लालपुर्जा दिने भन्ने गरेका भए पनि जितेपछि कोही पनि नफर्किने गरेको बताइन् । उनले नेताहरूले यसै ठाउँमा जग्गा दिने भन्ने गरेपनि आफूहरू ठगिँदै आएको बताइन् । २०५७ सालदेखि आफूहरू बस्दै आएको बताउँदै उनले बस्तीमा भूमिहीन सुकुम्वासीको फारम भरेको बताइन् ।
स्थानीय मोहन डगौरा थारुले भने अहिले आफूहरूको जग्गा पनि पछाडिबाट अरुले नै च्याप्दै गएको बताए । निस्सा भरेपछि यसअघि पनि एक पटक नापी टोली आएको भएपनि सुकुम्बासी टोल वरपरका गाउँलेहरूले लखेटेको उनको भनाइ छ ।















