बैतडी – बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) हुन लागेको पञ्चायत निर्वाचनका कारण सीमा नाका बन्द हुन लागेको हो ।

निर्वाचन अवधिभर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको पुलघाट नाका जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछन् ।
यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने छ । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।















