खाेज्नुहाेस

पुरा हुँदै नेपाल हुँदै छाङरु, टिङ्कर पुग्ने सपना

Image

दार्चुला – दार्चुलाको छाङरु र टिङ्कर पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हड्ने भएको छ । नेपाल भएर घोडेटो बाटोको निर्माण अन्तिम चरणमा पुगेपछि नेपालबाट छाङरु र टिङ्कर पुग्ने सपना पुरा हुन लागेको हो ।

पैसा तिरेर भारतीय बाटोको प्रयोग गर्नुपर्ने व्यासवासीको बाध्यता अन्त्य गर्न बाटो निर्माण तीव्र रूपमा अगाडि बढेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुसम्म जोखिमपूर्ण घोडेटो बाटोको काम तीव्र गतिमा भइरहेको छ ।

attariya hospital

व्यास–२, दुम्लिङदेखि व्यास–१, छाङरुसम्म निर्माणाधीन घोडेटो बाटोको ९० प्रतिशत निर्माण कार्य पूरा भएको छ । देशकै दुर्गम छाङरु र टिङ्करगाउँ तथा आसपासको भौगोलिक क्षेत्रलाई जोड्ने उद्देश्यले जेठबाट निर्माण सुरु गरिएको सो पैदलमार्गको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मिसन–देवहरि जेभीका निर्माण व्यवसायी केशवबहादुर पालले जानकारी दिए ।

navjiwan hospital

विशेष गरेर अत्यन्तै अप्ठ्यारो र पूर्ण रूपमा बाटो नभएका स्थानलाई प्राथमिकतामा राखेर काम भइरहेको पालले बताए । महाकाली नदीमाथि डोरीमा झुन्डिएर कडा चट्टानी भाग खोपेर ड्रिल गर्दै श्रमिकले दिनभर काम गरिरहेको काममा खटिएका जनक धामीले बताए ।

सबैभन्दा चुनौतीपूर्ण रहेको माल्पा भिर क्षेत्रमा पनि निर्माण लगभग पूरा भइसकेको र एक दुई दिनमै पूर्ण रूपमा बाटो बन्ने उनले बताए । छाङरुदेखि दुम्लिङसम्मको ३१ किलोमिटर क्षेत्रभित्रको पैदलमार्ग निर्माणका लागि सङ्घीय सरकारले व्यास गाउँपालिकालाई पाँच करोड ५० लाख बजेट पठाएको थियो ।

प्राप्त बजेटसँग थप श्रम अभियान जोडेर वैशाखमा कुन्जा सर्नुभन्दा पहिले नै सो बाटो खुलाउने प्रयास गरिएको भए पनि कानुनी अड्चन आउन सक्ने भन्दै सोही बजेटबाट ठेक्का प्रक्रियामार्फत निर्माण कार्य भइरहेको हो ।

हालसम्म माल्पा भिर, अपिखोला, घाटीबगड, थी, तम्बाकु र घोप्टेलगायतका क्षेत्रमा काम पूरा भएको छ भने दोपखेभन्दा तलका केही स्थानमा निर्माण कार्य जारी रहेको ठेकेदार केशव पालले बताए ।

नेपालबाट छाङरु र टिङ्कर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीय भारतको बाटो प्रयोग गर्न बाध्य छन् । छाङरु र टिङ्करमा करिब दुई सय घरपरिवारको बसोबास छ ।