खाेज्नुहाेस

बर्सेनि डुब्छ जित्तलपुर बस्ती, स्थानीय भन्छन् ‘गरिब भएर हेला गरे’

Image
अत्तरिया – कैलालीको अत्तरिया धनगढी ६ लेन सडक किनारामै भएर पनि जित्तलपुर बस्तीका पीडा कहाली लाग्दो छ । मुक्त कमैया शिविरका नामले परिचित उक्त बस्ती सडक भन्दा होचो भागमा अवस्थित छ । जुन बस्ती बर्सेनि बर्सातमा अत्तरिया बजारको पानीले भरिएर डुब्दै आएको छ ।
attariya hospital
‘हामीलाई समस्याको समस्या नै छ । मेरो त घरको भित्ता पनि भत्किन लाग्यो । अब के गर्नु, बर्खामा कहाँ गएर बस्नु’ स्थानीय फुलमती डगौराले भनिन् ‘रोडको पानी सबै शिविर तिर आउँछ । चौकीको पानी, बजारको पानी शिविरमा आउँछ । जसले शिविर डुबानमा पर्छ ।’ उनले ६ लेन सडकको नालामा पानी नबगेर बस्तीमा पस्ने गर्दा डुबान हुने गरेको बताइन् । ‘हामीले सडकको पानी बस्तीमा नआउने बनाइदिन आग्रह गर्दै आएका छौ । तर, कसैले सुन्दै सुन्दैन’ उनले भनिन् ‘गरिब हुन भनेर सबैले हामीलाई हेला गरेका छन् । के गर्ने बर्खाको बेला रुन मन लाग्छ ।’
स्थानीय भोजिया डगौरा थारुले राती सुतेकै बेला पानी घरभित्र पसेको बताइन् । ‘ढोका बन्द गरेर पनि पानी रोकिएन । घरभित्र भएको अन्य, लुगा कपडा सबै भिजेको छ । घरमा पालेका बाख्रा, हाँस मरिरहेका छन् । नदी जस्तै रोडको पानी बस्तीमा आएर हाम्रो बिजोग गरेको छ’ उनले भनिन ‘यो समस्या पहिलै देखिको हो । यो नाला राम्रो बनाइदेउ भन्दाभन्दै कसैले वास्ता नै गरेका छैनन् ।’
उनले बस्ती डुबेपछि मात्रै नगरपालिकाबाट डोजर आउने गरेको बताइन् । उनले भनिन ‘यो वर्ष पनि वडामा गएका थियौ । तर केही काम भएन । अहिले यती क्षति भएपछि डोजर आयो । डोजरले खनेर के हुन्छ थाहा छैन ।’
navjiwan hospital

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले शिविर बस्ती डुबेपछि जीसीबि लगाएर पानी निकास गरिएको बताए । उनले ६ लेन सडकको नालाले गर्दा बस्ती डुबानमा पर्ने गरेको बताए । उनले ६ लेन सडकको नाला निर्माण गर्दा स्ल्याप हालिएको ठाउँमा काठ पनि ननिकालिएकाले पानी ब्लक भएर बस्तीमा जाने गरेको बताए ।
उनले भने ‘यो नालामा पानी निकास नभएर हामीले समस्या भोग्दै आएका छौ । यो नाला हेर्ने सडक विभाग होस या ठेकेदार तिनले अब यो नाला सफा गरेनन् भने हामी सडक कार्यालय घेरेर आन्दोलन गर्ने हो ।’ उनले सडक कार्यालय ठेकेदारले हस्तान्तरण गरेको छैन भन्ने र ठेकेदारले हस्तान्तरण गरिसकेको भनेर नालाको काम नगरेको बताए । उनले यस वर्ष एकै पटक धेरै पानी परेका कारण पनि समस्या भएको बताए ।
गोदावरी नगरपालिका – १ मा रहेको उक्त बस्तीमा ढलको निकास नहुँदा सुख्खा मौसममा समेत दुर्गन्धित हुने गरेको छ । १ सय १७ घरधुरी रहेको उक्त बस्तीको ढल निकासका लागि नाली छैन । यो बस्तीमा २०५७ सालमा मुक्त कमैया भएका परिवार बस्दै आएका छन् । करिब २० वर्ष अगाडी सुरक्षा सामुदायिक वन क्षेत्रमा बसेका उनीहरूलाई ९ वर्ष अघि तत्कालीन स्थानीय राजनीतिक सर्वदलीय संयन्त्रले वनको किनारामा प्रतिपरिवार ६ धुर जग्गा दिएर बसाएको थियो ।
सरकारले दिएको जग्गामा घर मात्रै बनाएका उनीहरू मध्ये अधिकासंले अहिले ज्याला मजदुरीको काम गर्दै आइरहेका छन् । हाल बस्तीको धनगढी–अत्तरिया सडक किनारामा घर भएका २२ परिवारले प्रतिपरिवार ५ धुर जग्गाको जग्गाधनी पुर्जा पाएका भए पनि अन्य परिवारले भने अझै जग्गाधनी पुर्जा पाएका छैनन् ।