दार्चुला – दार्चुलाका तिन जना उत्कृष्ट कृषकलाई ‘भीमदत्त पन्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिएको छ । विगत एक दशकभन्दा लामो समयदेखि कृषि पेसामा आबद्ध भई व्यावसायिक रूपमा कृषि गर्दै आएका उत्कृष्ट कृषकलाई कृषि ज्ञान केन्द्र दार्चुलाले सोमबार एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो ।

कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रम अन्तर्गत उत्कृष्ट हुने शैल्यशिखर नगरपालिका–३ का माहुरी पालक कृषक प्रजापती भट्ट, महाकाली नगरपालिका–१ का बङ्गुर–कुखुरा पालक कृषक अमरसिंह महरा र मालिकार्जुन गाउँपालिका–८ का तरकारी खेती गरिरहेका कृषक अनिल लोहारलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिए ।

उत्कृष्ट तिन जना कृषकलाई जनही नगद २५ हजार, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको उनले बताए । कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपले उनीहरूलाई नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


















