अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध वितरण आयोजना (डीडीसी) को लागि जग्गा खोज्ने प्रक्रिया अगाडि बढाइएको एक वर्ष बिते पनि अझै अलमल कायमै छ । हाल अत्तरियाको कृषि उपज थोक बजारमा भाडामा रहेको डीडीसीले स्थायित्व र विस्तारका लागि भन्दै २०८० फागुनमा गोदावरी नगरपालिका सहित ४ पालिकालाई जग्गा प्राप्तिका लागि औपचारिक रूपमै पत्राचार गरेको थियो ।
डीडीसी अत्तरियाका कार्यालय प्रमुख निरञ्जन भट्टराइले गोदावरी नगरपालिका सँग जग्गा मागका लागि आफै कार्यालयमा गएर पत्र बुझाएको बताए । ‘पत्र लगेर म मेयरसाप सँग कुरा गरे । वहाँले २/३ ठाउँको जग्गा पनि देखाउनु भयो’ उनले भने ‘पछि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढ्न नसकेपछि त्यतिकै रोकियो ।’ उनले गोदावरीको गौडीमा रहेको स्कुलको जग्गाका लागि वन र स्कुललाई पत्राचार गरे पनि त्यता पनि उपयुक्त नभएपछि धनगढी तिर लागेको बताए । उनले सो क्रममा २०८१ वैशाख तिर कृष्णपुर नगरपालिका र २०८१ भदौमा धनगढी उपमहानगरपालिकामा जग्गा प्राप्तिका लागि छलफल अगाडि बढाइएको बताए ।


गोदावरी सहित छिमेकी पालिकामा जग्गा खोजीको प्रक्रिया चलिरहेका बेला २०८१ पुस महिनामा स्थानीयले गोदावरी बाहेक सार्न नहुने भन्दै दबाब दिन सुरु गरेका थिए । त्यसपछि गोदावरीमै डीडीसीका लागि जग्गा खोज्ने भन्दै पुस १६ गते गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा प्राप्ति कार्यदल गठन गरिएको थियो ।
जग्गा खोज्ने कार्यदलले जग्गा खोजी गरिरहेकै बेला डीडीसीले भने २०८१ माघमा धनगढी उपमहानगरपालिका सँगै धनगढी उपमहानरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन कारखानामा डीडीसी सार्ने सम्झौता गरेपछि अहिले अत्तरियामा तालाबन्दी गरेर आन्दोलन भइरहेको छ । स्थानीयले गुपचुप धनगढी सार्ने सम्झौता गरिएको भन्दै जेठ ८ गतेदेखि डीडीसी कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीयले डीडीसी संरक्षण सङ्घर्ष समिति गठन गरेर डीडीसीलाई अत्तरियाबाट सार्न नहुने, स्थानीय सरकारले अत्तरियामै जग्गा उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

तालाबन्दी गरिएको भोलिपल्ट गोदावरी नगरपालिकाले लिखित रूपमै डीडीसीलाई तीन ठाउँमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता सहित पत्र पठाए पनि त्यसको जवाफ डीडीसीबाट नआएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले तीन जग्गा मध्ये एक जग्गा डीडीसीले छनोट गरिदिएमा आफूहरूले त्यसको भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने योजना रहेको बताए । डीडीसी कार्यालयमै तालाबन्दी भएर प्रशासनिक काम ठप्प हुँदा पनि ताला खुलाउने विषयमा १३ दिन बितिसक्दा पनि दोहोरो संवाद नहुँदा अहिले झन् अन्योल सृजना भएको छ ।
सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसीका हाकिमले एक वर्ष अघि नै अत्तरियामा जग्गा उपलब्ध गराइदिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगर्दा अहिलेको अवस्था आएको बताए । उनले अहिले पनि सङ्घर्ष समितिले दबाब दिँदा पनि सम्बन्धित निकायले नसुनेको बताए ।
‘एक वर्ष अघि देखि अत्तरियामा डीडीसीका लागि जग्गा आवश्यक छ भनेर हाकिमले चहार्दा पनि सम्बन्धित निकायको मौनताका कारण आज यो धनगढी जाँदै छ’ उनले भने ‘अहिले पनि सङ्घर्ष समितिले यसको बारेमा आवाज उठाउँदा पनि स्थानीय तह लगायत सङ्घर्ष समितिले नसुनेको अवस्था छ ।’ उनले जग्गा उपलब्ध गराउनको लागि नगरपालिकाले फाइल खडा गरेर जानुपर्नेमा ३ ठाउँका जग्गा देखाएर मात्रै नहुने बताए । उनले डीडीसीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउनुको सट्टा आश्वासन दिएर ताली बजाउने काम मात्रै भएको बताए ।
डीडीसी सङ्घर्ष समितिका सह–संयोजक धर्म सिंह कुँवरले बोलेर मात्रै नहुने भएकाले प्रक्रियामा जानुपर्ने बताए । उनले भने ‘सङ्घर्ष समिति आन्दोलन नै गरिराख्ने, नगरपालिका पत्रै पठाउने काम मात्रै गरेर यो समस्याको समाधान हुँदैन ।’
सङ्घर्ष समितिले मंगलबार नगरपालिकाका प्रवक्ता एवम् डीडीसीको जग्गा खोज्न बनेको कार्यदलका संयोजक गोपाल दत्त भट्टलाई कुनै एक जग्गाको ठोस टुङ्गो लगाएर प्रक्रिया अगाडि बढाउनु पर्ने गर्दै ज्ञापन पत्र पनि बुझाएको थियो ।

















