खाेज्नुहाेस

अत्तरिया बसपार्क, बस्ती र लामीताल छोडेर तारबार गर्न सेनाको टेन्डर

Image

अत्तरिया – कैलालीको अत्तरियामा लामो समय देखि विवादित जग्गामा काडे तारबार गर्न नेपाली सेनाले टेन्डर (बोलपत्र) आह्वान गरेको छ । अत्तरिया बसपार्क, बसपार्क सँगै जोडिएको ६१ घर धुरी रहेको बस्ती, लामिताल सहित १७ हेक्टर जग्गा आफ्नो भएको दाबी गर्दै आएको सेनाले बसपार्क, बस्ती र लामीताल क्षेत्र छोडेर तारबार गर्न टेन्डर आह्वान गरेको हो ।

अत्तरियामा रहेको बौद्ध गुम्बा, रेडक्रसको भवन भने सेनाले घेरबार भित्र पर्ने गरी तारबार गर्न टेन्डर आह्वान गरेको छ । ई–विडिङ मार्फत टेन्डर गरिएको विडिङ डकुमेन्टमा सार्वजनिक गरिएको नक्सामा १ हजार ८ सय मिटर तारबार गर्ने उल्लेख छ । तारबार गर्ने क्षेत्रमा ५ वटा गेट राखिएको छ । तारबार भित्र बौद्ध गुम्बा भएर जाने कालोपत्रे सडक पनि राखिएको छ । तर, उक्त बाटोको प्रवेशद्वार र निकासद्धारमा गेट राखिएको छ । यस्तै लामीताल जाने बाटोमा पनि गेट राखिएको छ ।

attariya hospital

यसअघि नेपाली सेनाले अत्तरिया बसपार्क सहित आफ्नो क्षेत्रमा पर्ने भन्दै बसपार्क अगाडि बोर्ड राखेको थियो भने बसपार्क निर्माणमा पनि अवरोध गर्दै आएको छ ।

अहिले बसपार्क, बस्ती र लामिताल क्षेत्र छोडेर तारबारका लागि नक्सा सार्वजनिक गरे पनि स्थानीयले भने अत्तरिया बजार क्षेत्रमा सेना बस्न नहुने भन्दै विरोध जनाएका छन् ।

navjiwan hospital

अत्तरियामा तत्कालीन माओवादी सशस्त्र द्वन्द्व भएको बेला २०६१ सालमा सेना बसेको स्थानीयको भनाइ छ । तर, पछि सेना हटे पनि पछिल्लो एक दशक देखि सेनाले आफ्नो भोगाधिकार रहेको बन्दै बसपार्क बनाउन अवरोध गर्दै आएको छ भने ५ महिना देखि ट्राफिक प्रहरी कार्यालय पछाडि अस्थायी टहरा निर्माण गरेर सेना बस्दै आएको छ ।

विवादित जग्गामा तारबार गरिएको विषयमा नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले भने विस्तृत जानकारी नभएको बताए । उनले विवादित जग्गा भए सहमति गरेर अगाडि बढ्न सकिने बताए ।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले सेनालाई तारबार गर्न दिने विषयमा सेना सँग कुनै सहमति नभएको बताए । ‘करिब एक साता अघि जर्नेल सुदूरपश्चिम आएको बेला बसेर छलफल गर्ने, बसपार्क पनि हामीलाई निर्माण गर्न दिने कुरा भएको थियो’ उनले भने ‘त्यसपछि कर्नेल सापले कार्यव्यस्तताका कारण भेट्न नसकिने भनेपछि कुरा हुन पाएन ।’ उनले कुन कुन क्षेत्रमा तारबार गर्ने गरी टेन्डर आह्वान गरिएको छ भन्ने बारेमा बुझ्न बाकी रहेको बताए ।

सेनाले वैशाख १७ गते (अप्रिल ३०) मा अत्तरियामा १ हजार ८ सय मिटर तारबार र धनगढीमा भूपू आर्मीको कल्याणकारी भवन निर्माण गर्न संयुक्त बोलपत्र आह्वान गरेको छ । जसका लागि ७३ लाख १० हजार ८२३ रुपैयाँको स्टमेट तयार गरिएको छ । बोलपत्रको म्याद एक महिना राखिएकाले म्याद सकिन अझै ६ दिन बाँकी रहेको छ ।

सम्बन्धीत समाचार : अत्तरियामै बस्न थाल्यो सेना