दार्चुला– दार्चुलामा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा नेपाली सेनाको श्रीदल गुल्मले आइतबार संयुक्त पूर्वतयारी अभ्यास गरेको छ । श्रीदल गुल्मको आयोजनामा मनसुनजन्य विपद् (बाढी र पहिरो) लाई लक्षित गर्दै विपद् पूर्व तयारी तथा प्रतिकार्य अभ्यास सम्पन्न गरिएको हो ।

नेपालमा मनसुनको समयमा हुने भारी वर्षको करण बाढी, डुबान र पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई कम गर्न श्रीदल गुल्मले बाढी तथा पहिरोबाट प्रभावितलाई तत्काल उद्धार र राहत कार्य प्रभावकारी रुपमा गर्न ‘अभ्यास मनसुन–५’ सम्बन्धि डेमो प्रदर्शन गरिएको गुल्म पति उत्तम खडकाले बताए ।

महाकाली नगरपालिका वडा नम्बर ४ लास्कुखोला क्षेत्रमा गरिएको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, एनसीसी र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । ३४ जना नेपाली सेना, २४ जना सशस्त्र प्रहरी, १५ जना नेपाल प्रहरी र ९ जना एनसीसीको टोलीले संयुक्त रुपमा बाढी पहिरो लगायतको विपद्मा परेकाहरूको उद्धार गर्ने कार्यको अभ्यास गरेको थियो ।
नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्य टोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद् विरुद्ध खटिने प्रतिकार्य टोलीलाई अभ्यास गर्न लगाएको गुल्म पति खडकाले बताए ।