काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा आयोजना हुँदै आएको शिक्षकहरुको आन्दोलन आइतबार अशान्त बनेको छ । शिक्षकहरूको आन्दोलनका क्रममा आइतबार प्रहरीसँग झडप भएको हो ।

नेपाल शिक्षक महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ ।

यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो ।
प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको छ ।

















