दार्चुला– दार्चुलामा यार्चागुम्बा सङ्कलनको लागी अनुमतिपत्र वितरण कार्य सुरु भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख पहिलो साताबाट यार्चागुम्बा तथा जडीबुटी सङ्कलनका लागि अनुमतिपत्र वितरण कार्य सुरु गरेको कार्यालय प्रमुख विनय कुमार झाले जानकारी दिए । जिल्लास्थित जडीबुटी सङ्कलन व्यवसायी, उद्योग वाणिज्य संघ दार्चुला तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि अनुमतिपत्र वितरण सुरु भएको उनले बताए ।

यार्चागुम्बा ओसारपसार तथा व्यवस्थापन कार्यविधि–२०७३ अनुसार यार्सा पाइने पाटन जेठ १५ देखि असार १५ गतेसम्म खुल्ने भएपनी अनुमतिपत्र वितरण कार्य भने सुरु भएको उनले बताए । कार्यालयका अनुसार यार्चा सङ्कलन गर्न जानेहरूको लागि शुल्क समेत निर्धारण गरिएको छ । जसअनुसार अपिनाम्पा संरक्षण क्षेत्रभित्रका स्थानीयको लागि रु. ५०० शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै संरक्षण क्षेत्रबाहिर रहेका जिल्लाभरिका स्थानीयहरूको लागी रु. २ हजार र जिल्लाबाहिरका स्थानीयको लागि रु. ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख झाले बताए । कार्यविधि अनुसार आगामी जेठको १५ देखि असारको १५ गतेसम्म पाटन खुला हुने भएपनी संरक्षण क्षेत्रभित्रका स्थानीयहरू यार्चागुम्बा सङ्कलनका लागि चाँडै जाने गरेको उनले बताए । यस वर्ष आठ सय किलोग्रामका लागि सङ्कलन अनुमतिपत्र दिइने बताइएको छ ।
दार्चुलाको अपिहिमाल, ब्याँस, दुहुँ र नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोत सङ्कलनका लागी यार्चागुम्बा र जडीबुटी सङ्कलन गर्ने गरेका छन् । जिल्लाको लोलु, अपि फेद, सतगङ्गा, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्चागुम्बा पाइने गरेको छ । कार्यालयले अनुमति विना यार्सा तथा जडीबुटी सङ्कलन नगर्न सूचित गरेको छ ।