बैतडी- बैतडीको एउटा सामुदायिक विद्यालयले बिद्यार्थीहरुलाइ पुस्तक बितरण गरेको छ । नयाँ शैक्षिक सत्रका लागि जिल्लाको पाटन नगरपालिका-९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विद्यार्थीहरूलाई पुस्तक बितरण गरेको हो ।
बिद्यार्थीहरु धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि विश्व पुस्तक दिवसका अवसरमा विद्यार्थीलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक गरेको बिधालय ले जनाएको छ ।

शैक्षिक सत्र शुरू भएको डेढ हप्ताभन्दा बढी भइसके पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन सकेको छैन । यसले विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।

उनका अनुसार शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तीर्ण भएका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको हो । शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत छ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन् ।
निजी विद्यालयले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको अध्यक्ष भाटले बताए ।

‘शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौँ, २१ दिनसम्म सहयोग गरिएको हो,’ उनले भने, ‘अब विद्यालयलाई समस्या भएको छ, विद्यार्थी पलायन रोक्नका लागि र उनीहरू स्वअध्यनका लागि भए पनि किताब वितरण गरेका हौँ ।’
यही वैशाख १५ गतेदेखि विद्यालयमा उपलब्ध जनशक्तिबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी बताए । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानलगायत शैक्षिक गतिविधि प्रभावित बनेका छन् ।
