बैतडी – स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक शिक्षकको मृत्यु भएको छ । शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको हो ।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए ।

शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
घटनापश्चात बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।