खाेज्नुहाेस

समृद्ध गोदावरी निर्माणको सङ्कल्प अभियान ‘जय गोदावरी’ को शुभारम्भ

Image

अत्तरिया – कैलालीमा समृद्ध गोदावरी निर्माणको सङ्कल्प अभियान ‘जय गोदावरी’ को शुभारम्भ गरिएको छ । नव वर्ष २०८२ को अवसरमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको हो । सोमबार अभियानका सल्लाहकार वीर बहादुर कडायतको सभाध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच पण्डित कृष्ण दत्त जोशीले पूजाआजा गरेर अभियानको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै अभियानका परिकल्पनाकार मध्येका एक विष्णु जोशीले सुदूरपश्चिमको मुटुमा रहेको गोदावरीको समयानुकूल विकासका लागि गैर राजनीतिक अभियान सञ्चालन गरिएको बताए । उनले अभियान मार्फत मतदातालाई सचेत गराउने, स्थानीय सरकार र सरोकारवाला सँग समन्वयन गर्दै संरचनात्मक र दीर्घकालीन विकासमा केन्द्रित हुने बताए ।

attariya hospital

‘नागरिकलाई मतदानको बारेमा गहिरो गरी जनचेतना फैलाउने, दीर्घकालीन विकासका लागि गुरु योजना बनाउने, सानो लगानीमा ठुलो प्रभाव पार्ने रणनीति कसरी अपनाउन सकिन्छ भनेर केही नमुना अभ्यास गर्ने, सबैलाई नेतृत्वमा सहभागी गराउने साझा नेतृत्व विकासका लागि काम गर्ने, समाजमा भएका विद्यमान कुरीति कुसंस्कार विरुद्ध आवाज उठाउने र आम नागरिकमा आशाको दियो जनाउने काम हाम्रो अभियानले गर्ने छ’ उनले भने ‘देश विदेशमा रहेका विज्ञहरूलाई अभियानमा आबद्ध गराएर विश्वका उत्कृष्ट नगरहरूको अध्ययन गरी प्राप्त सिकाइबाट स्थानीय सरकार सँगको सहकार्यमा कार्यान्वयनको अभ्यास गरिने छ । फलस्वरुप युवाको गन्तव्य विदेश होइन स्वदेश हुने छ ।’

उनले सदाचारयुक्त जनमुखी नेतृत्व, तथ्यमा आधारित विश्लेषण गरेर समाधानका उपाय खोज्ने, समानता नभएर समतामुलक विकासका लागि वकालत गर्ने अभियानको विशेषता हुने बताए ।

navjiwan hospital

अभियानका संयोजक धन बहादुर बोगटीले केही फरक तरिकाले काम गर्न प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । उनले अभियानमा यस क्षेत्रका जान्ने बुझ्ने सकारात्मक सोच भएका व्यक्तिहरू जोडिन सक्ने बताए । ‘यस क्षेत्रका विद्धतहरुको साथ सहयोगमा हामी केही गरौँ । केही नयाँ परिवर्तन गर्नका लागि प्रेरित गर्न हामी एकजुट भएका छौ’ उनले भने ‘हामी गलत बाटो हिँड्ने छैनौ । काम गर्दा कुनै त्रुटि भए पनि हामी नियतवश गलत गर्ने छैनौ । बरु हामी सक्किउला तर गलत गर्ने छैनौ ।’

कार्यक्रम बोल्दै अभियानका सल्लाहकार वीर बहादुर कडायतले अभियानमा अरू भन्दा फरक तरिकाले काम गरिने बताए । उनले अभियानमा प्रत्येक ३ महिनामा नेतृत्व परिवर्तन हुने बताए । उनले अब यो पार्टी त्यो पार्टी भन्दा पनि बिना कामको बकम्फुसेलाई बोकेर हिँड्न आवश्यक नभएको बताए ।

उनले राजनीतिलाई पेसा बनाएर हिँडेकालाई बहिस्कार गर्नुपर्ने बताए । अब २०८४ मा देखाउने भन्दा पनि अहिले नै देखाउने भन्ने हिसाबले अगाडि बढ्न आवश्यक रहेको बताए । ‘अब कुनै पार्टी सँग माला गासिएकाहरुलाई अब स्थानीय तहमा भोट दिइन्न । यो बिचार हामीमा हुनुपर्छ’ उनले भने ‘स्थानीय तह स्वतन्त्र नै हुनपर्छ, स्थानीय तह स्वायत्त नै हुनपर्छ । यहाँको बागडोर सिंहदरबारमा गएर जोडिएपछि के को स्थानीय तह ?’ उनले अहिलेका स्थानीय तहका प्रमुख हरेक कामका लागि काठमाण्डौं जाने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताए ।

कवि खेम बतासले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अधिवक्ता सेर बहादुर विष्टले गरेका थिए । कार्यक्रममा यस क्षेत्रका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

जय गोदावरीका नाममा अत्तरियामा विगत एक वर्षदेखि गृहकार्य गरिँदै आएको थियो । जसमा स्वतन्त्र नागरिक, पार्टी परित्याग गरेका देखि समाजसेवी, बुद्धिजीवी लगायतका युवा जेष्ठनागरिको सहभागिता रहेको छ । अभियानलाई आगामी निर्वाचनमा स्वतन्त्र नगरको मेयर उठाउने अभियानका रूपमा पनि हेरिएको छ ।

भिडियो