धनगढी – कैलालीमा एउटै विद्यालयमा पढ्ने ७ वर्षकी नाबालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षका बालक पक्राउ परेका छन् । टीकापुर नगरपालिका–४ मा रहेको निजी विद्यालयमा अध्ययनरत ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षका बालकलाई चैत्र ११ गते इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना चैत्र ६ गतेको हो । नाबालिकालाई उपचारका लागि टिकापुर अस्पतालमा पु¥याइएपछि त्यहाँबाट घटनाबारे प्रहरीलाई खबर प्राप्त भएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनराज बुढाथोकीले घटनामा आरोपित बालकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट पनि प्राप्त भएको छ ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको डीएसपी बुढाथोकीले जानकारी दिए । उनकाअनुसार केही दिनभित्र अनुसन्धान पुरा गरेर अदालतमा फाइल बुझाउने काम हुनेछ ।
उक्त घटनाबारे पिडक पक्षले पीडितलाई मिलापत्र गर्न दबाब दिइरहेको बताइएको छ । मुद्दालाई होस्टाइन गर्न अनेक खालका दबाब र प्रभाव आइरहेको भन्दै पीडित बालिकाको परिवारले मानव अधिकार आयोगमा समेत उजुरी दिएका छन् ।














