खाेज्नुहाेस

गोदावरीमा आधारभूत तहमा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण, सामुदायिकको नतिजा निराशाजनक

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नगर स्तरीय आधारभूत तह (कक्षा ८) को नजिता सार्वजनिक गरेको छ । नगरपालिको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार सोमबार नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजा अनुसार चालु शैक्षिक सत्र २०८१ मा ५४.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा कुल ३ हजार १४८ विद्यार्थी सहभागी भएकोमा १ हजार ७२० विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो शैक्षिक सत्र २०८० मा ४३.७५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । जसमा २ हजार ६२७ विद्यार्थी सहभागी भएकोमा १ हजार १४५ विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्षको नतिजा गत वर्षको भन्दा सुधार भएको नगरपालिकाले जनाएको छ ।

attariya hospital

यस वर्ष नन ग्रेड (अनुत्तीर्ण) भएका १ हजार ४२८ मध्ये मध्ये दुई विषयमा मात्रै अनुत्तीर्ण भएका ७८५ जनाले पूरक परीक्षा दिन पाउने नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रयागराज जोशीले बताए ।

यस वर्ष उत्तीर्ण भएका मध्ये ३.६ देखि ४ जिपिए ल्याउने ४६८, ३.२ देखि ३.६ जिपिए ल्याउने ६०७, २.८ देखि ३.२ जिपिए ल्याउने ४८४, २.४ देखि २.८ जिपिए ल्याउने १४९, २.० देखि २.४ जिपिए ल्याउने १२, १.६ देखि २.० जिपिए ल्याउने शून्य विद्यार्थी रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

navjiwan hospital

सामुदायिकका ३६, निजीका ८६ प्रतिशत उत्तीर्ण

गोदावरीमा यस वर्ष सामुदायिक तर्फ ३० र निजी तर्फ २९ विद्यालय सहभागी भएका थिए । जसमा निजी तर्फ ८६.०५ प्रतिशत उत्तीर्ण हुँदा सामुदायिक तर्फ ३६.६३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जुन निजीको तुलनामा निकै कमजोर नतिजा हो ।

सामुदायिक विद्यालयबाट २ हजार १ विद्यार्थी सहभागी भएकोमा ७३३ मात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जिपिए ल्याउने ५४, ३.२ देखि ३.६ जिपिए ल्याउने २०२, २.८ देखि ३.२ जिपिए ल्याउने ३२३, २.४ देखि २.८ जिपिए ल्याउने १४२, २.० देखि २.४ जिपिए ल्याउने १२, १.६ देखि २.० जिपिए ल्याउने शून्य विद्यार्थी रहेका छन् । सामुदायिक तर्फ नन ग्रेड (अनुत्तीर्ण) भएका १ हजार २६८ विद्यार्थी मध्ये ६५८ विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने छ ।

निजी विद्यालयबाट १ हजार १४७ विद्यार्थी सहभागी भएकोमा ९८७ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जिपिए ल्याउने ४१४, ३.२ देखि ३.६ जिपिए ल्याउने ४०५, २.८ देखि ३.२ जिपिए ल्याउने १६१, २.४ देखि २.८ जिपिए ल्याउने ७, २.० देखि २.४ जिपिए ल्याउने शून्य, १.६ देखि २.० ल्याउने पनि शून्य विद्यार्थी रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । निजी तर्फ नन ग्रेड (अनुत्तीर्ण) भएका १६० विद्यार्थी मध्ये १२७ विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

अघिल्लो शैक्षिक सत्र २०८० मा सामुदायिक तर्फ ३०.३५ र संस्थागत तर्फ ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्ष निजीको नतिजामा धेरै सुधार आएको भएपनि सामुदायिकमा भने थोरै मात्रै सुधार देखिएको छ । शैक्षिक सत्र २०७९ मा भने ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नगरपालिकाले शैक्षिक सत्र २०८० देखि नगरपालिकाबाटै परीक्षा सञ्चालन गरेर नगरबाटै उत्तर पुस्तीका जाँच गर्न सुरु गरेको थियो ।