अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्र भएर बग्ने खोला लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ठाउँमा धमाधम घर निर्माण गरेर खोलाहरू अतिक्रमण भइरहेका छन् भने अतिक्रमण भएका खोला नालामा परिणत भइसकेका छन् । खोला अतिक्रमण हटाउन २ वर्ष अघि नगरपालिकाले सूचना जारी गरेको भए पनि अहिले मौन छ ।
नगरपालिकाले पहिलो पटक २०७९ असोज १२ गते खोलानालाको अतिक्रमण गरी बनाएका संरचना हटाउन ९० दिने सूचना निकालेको थियो । सूचनामा ९० दिन भित्र संरचना नहटाए नगरले हटाउने उल्लेख थियो । तर, सूचनाको म्याद सकिएपछि पुस १३ गते पुनः ३० दिने सूचना जारी भए पनि त्यसपछि नगरपालिका मौन छ । खोलाको अतिक्रमण हटाउन नगरपालिकाले चासो नदिँदा अहिले झन्–झन् अतिक्रमण बढेको छ ।



अहिले खोलामै पिल्लर हालेर घर निर्माण भइरहेका जताततै देख्न सकिन्छ । जसले गर्दा भविष्यमा खोलाको नामनिसान मेटिएर यो क्षेत्रमा डुबान झन् बढ्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन् । स्थानीय जित विकले खोलामा धमाधम घर निर्माण हुँदा खोला नै हराउन थालेको बताए । केही दशक अघि माछा मार्ने खोला अहिले नालामा परिणत भएको उनले बताए । अहिले अत्तरियाको महेन्द्रनगर रोड क्षेत्र भएर बग्ने खोला बढी अतिक्रमणमा परेका छन् । राजमार्ग छेउछाउमा खोला नालामा परिणत भइसकेका छन् ।
खोलामा अतिक्रमण बढ्ने क्रम नरोकिँदा बर्सातको समयमा डुबान हुन थालेको छ । खोला अतिक्रमण बढेपछि गत वर्ष अत्तरिया चोक लगायत बजार क्षेत्र जलमग्न बनेको थियो । खोला मासिने क्रम नरोकिँदा बर्सातमा झन् बढी डुबान हुने जोखिम बढेको अत्तरियाका सागर बमले बताए । उनले खोलामा धमाधम घर निर्माण हुँदा पनि स्थानीय सरकारले निर्माण कार्य रोक्न कुनै पहल नगरेको बताए ।
‘अहिले पनि जताततै धमाधम खोलामाथि पिल्लर हालेर घर निर्माण भइरहेका छन्’ उनले भने ‘अहिले खोलामा निर्माण भइरहेका घर पनि रोक्न सरकारले चासो दिएको छैन । झन् निर्माण भएका घर भत्काउने त आस पनि गर्न सकिदैन् ।’ पछि लालपुर्जा पाइने लोभ देखाएर खोला किनाराको जग्गा दलालले सस्तोमा बिक्री गरिँदै आएकाले अतिक्रमण बढेको उनले बताए । उनले खोलामा स्थानीय भन्दा पनि बाहिरबाट जग्गा किनेर आएकाले बढी अतिक्रमण गरेको बताए । नगरपालिकाले सूचना निकाल्ने बाहेक केही काम नगरेको उनले बताए ।

अत्तरिया बजार बिस्तार हुँदै जाँदा त्यसको पहिलो असर खोलाहरूमा पर्ने गरेको छ । नगरपालिकाले खोलाको मापदण्ड बनाएको भए पनि कार्यान्वयनमा बेवास्ता गर्दा अतिक्रमण बढेको छ । जसले गर्दा खोलामै पिल्लर हालेर घर ठडिँदा खोला साँघुरो बन्न थालेको छ । त्यस्तै अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र बाहिनी छेउको खोला पनि घरै घरले भरिन थालेको छ । दिन प्रतिदिन खोलाहरूमा अतिक्रमण बढिरहेको भए पनि यसलाई रोक्न भने सरोकारवाला निकाय स्थानीय तहले चासो देखाएको छैन ।