अत्तरिया– बैतडीको दशरथचन्द नगरपालिकामा आधारभुत तह कक्षा ८ को परिक्षामा ५८.६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । नगरपालिकाले सोमबार प्रकाशित गरेको नतिजा अनुसार नगरपालिकाभरमा परिक्षा दिने कुल परिक्षार्थीको ५८.६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन ।
नगरपालिकामा ३४ विद्यालयका ७५१ जना विद्यार्थीले आधारभुत तह कक्षा ८ को परिक्षा दिएका थिए । जसमध्ये ४०० विद्यार्थी उत्तिर्ण भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार नगरपालिकाका ४ वटा विद्यालयहरुले १०० प्रतिशत नतिजा निकालेका छन । नगरका एम.जे.सी. एकेडेमी, एन.बि.ए. एकेडेमी, ग्रीन हेवन पब्लिक स्कुल र सरस्वती आवासीय विद्यालयले पुर्ण नतिजा निकालेका हुन । एम.जे.सी. एकेडेमीबाट १६ जना, एन.बि.ए. एकेडेमीबाट २३ जना र ग्रीन हेवन पब्लिक स्कुल तथा सरस्वती आवासीय विद्यालयबाट ४/४ जना परिक्षार्थी सो परिक्षामा सहभागी भएका थिए । सहभागी सबै विद्यार्थीहरु उत्तिर्ण भएको नगरपालिकाले जनाएको छ ।


त्यसबाहेक कुलौन मा.वि. खतेडीको ९४.२९ प्रतिशत नतिजा आएको छ भने निङ्गलासैनी आ.मा.वि. देहिमाण्डौको ९१.३० प्रतिशत नतिजा आएको छ । कुलौन मा.वि.बाट परिक्षामा सहभागि भएका ३५ जना मध्ये ३३ जना पास भएका छन । निङ्गलासैनी आ.मा.वि.बाट पनि २३ जना मध्ये २१ जना पास भएको नगरपालिकाले निकालेको नतिजामा देखाईएको छ ।
नगरपालिकाको नतिजा अनुसार ३ वटा विद्यालयहरुले २० प्रतिशत भन्दा कम नतिजा ल्याएका छन । जसमा केदार आ.वि डोडरचौर, जनचेतना आ.वि. चैसिगाउँ र जगन्नाथ आ.वि. हल्लेक रहेका छन । केदार आ.वि. ले १८.१८ नतिजा ल्याएको छ भने जगन्नाथ आ.वि. ले १२.५० र जनचेतना आ.वि. ले ११. ११ प्रतिशत नतिजा ल्याएको छ । केदारबाट २२ जनाले परिक्षा दिएकामा ४ जना मात्रै पास भएका छन भने जगन्नाथबाट ९ र जनचेतनाबाट ८ जनाले परिक्षा दिएकामा १/१ जना मात्रै पास भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रसाद भट्टले जानकारी दिए ।
नगरपालिकाले गएको फागुन २६ गतेदेखि चैत ५ गतेसम्म परिक्षा सञ्चालन गरेको थियो । परीक्षामा अनुत्तिर्ण भएका ३ सय ५१ जना परीक्षार्थीमध्ये बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुलाई स्तरवृद्धि परीक्षामा सहभागी गराइने शिक्षा शाखा प्रमुख भट्टले बताए । दशरथचन्द नगरपालिकामा १ सय ८७ जना परीक्षार्थीहरुले स्तरवृद्धि परीक्षामा सहभागिता जनाउने पाउनेछन् । त्यस्ता विद्यार्थीहरुले चैत मसान्तभित्र परीक्षा फारम भरिसक्नुपर्नेछ । कक्षा ८ को स्तरवृद्धि परीक्षा वैशाख १५ र १६ गते सञ्चालन गर्ने तयारी भएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।
