भुवनी कुमारी भट्ट, अत्तरिया– सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशको पूर्व सूचना प्रणालीलाई थप व्यवस्थीत गरिने बताएका छन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय एवम् मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको आयोजनामा शुक्रबार धनगढीमा भएको विपत्सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री सार्कीले पूर्व सूचना प्रणालीलाई अझ व्यवस्थित गरी सरकारले समुदायलाई सचेत पार्ने कार्य गर्ने बताए । विगतमा भएको क्षतिलाई आङ्कलन गरेर अझै बढी तयार हुन आवश्यक रहेको उनको भनाई छ ।

उनले आगामी बजेटमा प्रदेश सरकारले विपत्लाई प्राथमिकता दिने समेत बताए । मन्त्री सार्कीले विभिन्न दातृ निकायसँग समन्वय गरेर विपत् व्यवस्थापनका लागि बढी बजेट छुट्टयाईने बताए ।
विपत् जोखिम न्यूनीकरणको हकमा प्रदेश सरकारले धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको समेत मन्त्री सार्कीको भनाइ थियो ।
उनले सङ्घसंस्थाहरूले विपद्का सवालमा अध्ययन गरेर प्रदेश सरकारलाई घचघच्याउने काम गरेको बताए ।