अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा रहेको सुरक्षा महिला सामुदायिक बन उपभोक्ता समुहले वनक्षेत्र अतिक्रमण गरी बनाइएका संरचाहरु भत्काउन थालेको छ । बनले शुक्रबारदेखी वनक्षेत्र अतिक्रमण गरी बनाईएका विभिन्न संरचनाहरु भत्काउन थालेको हो ।
समितिकी अध्यक्ष लक्ष्मी भण्डारीले सामुदायिक बनको क्षेत्र ओगट्ने काम भैरहेको बताईन । उनले बनक्षेत्र अतिक्रमण गरी संरचना बनाईएका सबै संरचनाहरु हटाई बनको क्षेत्र ओगट्न थालिएको बताईन । बन उपभोक्ता समितिले पुर्वपश्चिम राजमार्ग अन्र्तगत अत्तरिया चोकदेखी पुर्वपट्टि ट्राफिक प्रहरी कार्यालय अगाडीपट्टी निर्माण गरिएका संरचनाहरु भत्काउन सुरु गरेको छ ।


सो क्षेत्रमा केही महिनाकै अवधीमा विभिन्न संरचनाहरु निर्माण गरिएकाले भत्काउन सुरु गरेको अध्यक्ष भण्डारीले बताईन । ‘यो क्षेत्रमा हामीले सडकबाट नापेर बनको क्षेत्र ओगट्न थालेका छौ’ उनले भनिन् ‘बनको भरतपुर क्षेत्रमा पनि अतिक्रमण भएको छ, त्यहाँ पनि हामी डोजर लगाउँछौ ।’
उसो त सामुदायिक बनले सो क्षेत्रमा यसअघि नै तारजाली गरेको छ । सो क्षेत्रमा लगाईएका तारजालीहरु भित्र नै संरचनाहरु निर्माण गरिएका छन । तारजालीले बनको क्षेत्र छुट्याएको भएपनि अहिले आएर सामुदायिक बनले तारजाली बाहिरको क्षेत्रपनि आफ्नो भन्दै भत्काउन थालेको व्यवसायीहरुको आरोप छ । तर अध्यक्ष भण्डारीले हाल अतिक्रमण गरिएको क्षेत्रमा खल्ला भएका कारण यसअघि बनको क्षेत्रभित्र नै तारजाली गरिएको बताईन ।
‘माथीपट्टी बनको सिमानामा तारजाली गरेपनि यहाँ खल्ला भएका कारण पानीले समस्या भएपछि बनको क्षेत्रभित्र तारजाली गरेका थियौँ’ उनले भनिन् ‘खल्लाका कारण बनको सिमाना भन्दा केही भित्र तारजाली गरिएकोमा आज बनका कर्मचारी, प्रहरी लगायतको रहोबरमा सडकको सिमाना नापेर बनको क्षेत्र छुट्याईरहेका छौ ।’ सडकको मध्यबिन्दुबाट २५ मिटर छुट्याएर बनको सिमाना ओगट्ने काम भैरहेको अध्यक्ष भण्डारीको भनाई छ ।
