खाेज्नुहाेस

डीडीसीलाई अत्तरियामा रोक्ने जिम्मा अब माननीयलाई

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्नबाट रोक्ने जिम्मा लिइदिन यस क्षेत्रका प्रदेशसभा सदस्यलाई आग्रह गरिएको छ । बिहीबार अत्तरियामा जग्गा खोज्न बनेको कार्यदल लगायत सरोकारवालाले प्रदेशका राज्यमन्त्री प्रकाश बम र प्रदेश सभा सदस्य जानकी पौडेललाई उक्त आग्रह गरेका हुन ।

२०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसी अन्तरगत दुग्ध कारखाना समेत सञ्चालन गर्ने गरेर धनगढीमा सार्ने तयारी गरिएपछि यस क्षेत्रमा विरोध हुँदै आएको छ । अत्तरियाको कृषि उपज थोक बजारमा भाडामा सञ्चालनमा रहेको डीडीसीले यस क्षेत्रमा ठाउँ अभाव भएको भन्दै धनगढी सार्ने तयारी गरेको थियो । डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले डीडीसीलाई आवश्यक जग्गा दिएर भए पनि यतै राख्नुपर्ने माग गर्दै आएका छन् । डीडीसीका लागि जग्गा खोज्न पुस १६ गते गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा १४ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

attariya hospital

उक्त समितिको आग्रहमा हाल डीडीसी रहेको स्थान सँगै जोडिएको चाहना महिला सामुदायिक वनले चैत ८ गते जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । जग्गा उपलब्ध गराउने अन्य विभिन्न विकल्पमा पनि छलफल भइरहँदा डीडीसीले भने धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा सार्ने प्रक्रिया रोकेको छैन । जहाँ डीडीसी मार्फत नै दुग्ध प्रशोधन कारखाना पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसबिच जग्गा खोज्न बनेको कार्यदलले प्रदेशका माननीयहरूलाई डीडीसीलाई अत्तरियामा रोकेर दुग्ध कारखाना पनि अत्तरियामै बनाउने निर्णय गराउनका लागि पहल गरिदिन माग गरेका छन् ।

कार्यदलका सदस्य लोकराज पाण्डे (आगो) ले अत्तरियामा स्थापित भएको संस्था सार्ने कुरा सह्य नहुने भन्दै अत्तरियामै डीडीसीलाई रोक्न यस क्षेत्रका माननीयहरूले आवाज उठाउनु पर्ने बताए । उनले आफूहरूको स्तरबाट प्रयास गर्दा पनि सफल नहुने अवस्था आएकाले माननीयहरूले आवाज उठाउनु पर्ने बताए ।

navjiwan hospital

‘डीडीसी गोदावरीमा भएको कारणले दुग्ध प्रशोधन कारखाना गोदावरीमै राख्ने निर्णय प्रदेश सरकारले गरिदिएपछि यो यहाँ जोगिन्छ’ उनले भने ‘यसका लागि यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने माननीयहरूले बोलिदिनुप¥यो ।’

कार्यदलका सदस्य नन्दलाल भट्टले १० वर्ष अघि नै डीडीसीलाई जग्गा उपलब्ध गराउन फाइल तयार गरिएको भए पनि उक्त काम रोकिएकाले अब नयाँ तरिकाले अघि बढ्नुपर्ने बताए । कृषि उपज थोक बजारका निवर्तमान अध्यक्ष समेत रहेका भट्टले डीडीसीका लागि जग्गा खोज्न सबै निकायमा जानकारी गराइसकेको बताए ।

राज्यमन्त्री प्रकाश बमले अत्तरियामा जग्गा कहाँ दिने भन्ने निर्णय गरेपछि प्रदेश सरकारबाट अत्तरियामा बनाउने निर्णय गराउनका लागि आफूले पहल गर्ने बताए । उनले यस विषयमा यस क्षेत्रका सबै माननीय र स्थानीय मिलेर मुख्यमन्त्री समक्ष प्रस्ताव राख्न उपयुक्त हुने सुझाए ।

प्रदेश सभा सदस्य जानकी पौडेलले आफूले कृषि मन्त्रालयमा यस विषयमा बुझ्ने बताइन् । उनले छलफल गरेर डीडीसी रोक्ने जिम्मेवारी आफूहरूको भएको बताइन ।

संघ सरकारले चालु आर्थिक वर्षमा डीडीसी मार्फत दुग्ध प्रशोधन कारखाना सञ्चालन गर्न ६ करोड बजेट विनियोजन गरेको छ । उक्त योजना प्रदेश सरकार मार्फत कार्यान्वयन गरिँदै छ । ४० करोडको उक्त योजनाका लागि यस वर्ष ६ करोड बजेट आएको कृषि मन्त्रालयले जनाएको छ । पछिल्लो समय दूधको खपत गर्न समस्या हुन थालेपछि सरकारले सुदूरपश्चिममा पाउडर दूध उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना अघि सारेको थियो ।

भिडियो