अत्तरिया – हामीले कहाँ कति पानी प-यो, नदीको बहाव कति छ, हावाहुरीको कति चल्यो भनेर छिन भरमै मोबाइलमा सूचना पाउँन्छौ । ती सूचनाबाट वर्तमान अवस्थाको जानकारी मात्रै पाइँदैन भविष्यको अवस्थाको बारेमा आकलन पनि गरिन्छ । यसरी हामीले छिनभरमै पाउने सूचना त्यति सजिलै भने हामीकहाँ पुगेका हुँदैनन् । त्यसका पछाडि सयौँ उपकरण र सूचना सङ्कलनकर्ताको हात हुन्छ ।
तर, यसरी छिनछिनमै हामीलाई सूचना दिन फिल्डमा खटिएकाहरूको पीडा भने कहालीलाग्दो छ । सामान्य अवस्थामा कति पानी प¥यो भनेर दिनको २ पटक र अन्य समयमा कार्यालयले भने अनुसारको सूचना दिन खटिएका अब्जरभर (अवलोकनकर्ता) ले एक छाक खाने पारिश्रमिक पनि पाएका छैनन् । बैतडीमा विगत २३ वर्ष देखि रेन फ्लोको डाटा सङ्कलन गर्दै आएका एक अब्जरभरले दिनको ७० रुपैयाँ पाइने पारिश्रमिकले एक छाक पनि खान नपुग्ने बताए । ‘केही भन्यो भने निकालिदिन्छु भन्छन्’ नाम नभन्ने सर्तमा उनले भने ‘हाम्रो पहुच मन्त्रालय सम्म पुग्दैन । यहाँ पारिश्रमिक बढाइदिनुप-यो भनेर कति पटक डेलिगेसन दियौ कुरै सुनिँदैन ।’ उनले दिनमा २ पटक रेन फ्लोको टिपोट गरेर फोन मार्फत कार्यालयमा जानकारी गराउँदै आएको बताए । २४ घण्टा मेसिनको निगरानी गर्ने जिम्मा पनि आफूहरूकै हुने उनले बताए ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका – ८ धरमपानीका मौसम अवलोकनकर्ता हेम बहादुर चन्दले एक छान खान पुग्ने पारिश्रमिक दिए पनि सन्तुष्ट हुने अवस्था हुने बताए । ७० रुपैयाँका दरले मासिक २ हजार मात्रै पारिश्रमिक हुँदा काम गर्न निकै समस्या हुने गरेको उनको भनाइ छ ।

डोटीको शिखर नगरपालिका – ८ गोबघाटमा गेजुरेएटको काम गर्दै आएका इन्द्र बहादुर बलायरले दिनमा ३ पटक सेती नदीको बहाव मापन गरेर कार्यालयमा रिपोर्टिङ गर्ने गरेको बताए । गेजुरेएटको काम गर्नेलाई भने दैनिक २ सय पारिश्रमिक दिइने गरेको उनले बताए । उनले काम अनुसार मासिक ६ हजार पारिश्रमिक एकदमै कम भएको बताए । ‘हामीलाई सधैँ अफिसबाट फोन गर्छन् । हामीले समय समयमा डाटा टिपोट गर्नुपर्छ’ उनले भने ‘काम गर्न त्यति धेरै असहज नभए पनि पारिश्रमिक धेरै कम भयो ।’
सुर्नयागाड नदीको जल मापन गर्दै आएका गेजुरेएट धौल सिंह बिष्टले आफूहरूले निकै महत्त्वपूर्ण सूचना दिने गरेको भए पनि पारिश्रमिक निकै कम भएको बताए । ‘हिउँद होस या बर्सात हामीले दिनमा ३ पटक खोलामा आएर डाटा दिनुपर्ने हुन्छ’ उनले भने ‘सधैँ काम गर्दा पनि पारिश्रमिक धेरै कम छ ।’ उनले बिहान ८ बजे दिउँसो १२ बजे बेलुका ४ बजे सूचना दिने गरेको बताए । उनले यसरी काम गर्दा पनि कहिलेकाहीँ डाटा बिगारेको भनेर गाली पाइने बताए ।
सुदूरपश्चिममा हाल नदीको जल सतह मापक गर्ने गेजरिडर (जल मापक) ३१ र वर्षा तथा मौसम मापन गर्ने ६४ वटा केन्द्र रहेका छन् । ती सबैमा एक एक जना जल सतह मापक र एक एक जना मौसम मापक कार्यरत रहेका छन् । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार हाल जल सतह मापक गर्ने ३१ वटै केन्द्र स्वचालित भए पनि वर्षा तथा मौसम मापनका ६४ मध्ये ४१ वटा अझै म्यानुअल रहेका छन् । तर, कार्यालयले स्वचालित भएका केन्द्रमा पनि डाटा भेरिफाइ गर्न, स्थानीयलाई सूचना दिने गरी गेजरिडर र अब्जरभर यथावत् राखेको छ । गेजरिडर र अब्जरभरलाई कार्यालयले करार सम्झौता गरेर परिचालन गर्दै आएको छ ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार साहले उपकरण स्वचालित भएको ठाउँमा गेजरिडरले खोलाको सतह मात्रै नभएर बाढीको अवस्थाका बारेमा पनि जानकारी दिने बताए । उनले गेजरिडर र अब्जरभरको पारिश्रमिक काम भएको विषयमा आफूहरूले पनि पहल गरिरहेको बताए । ‘वहाँहरूले दिनभरि काम गराउनु पर्ने हुन्छ’ उनले भने ‘हाम्रो तर्फबाट वहाँहरूको पारिश्रमिक समय सापेक्ष हुनुपर्छ भनेर फाइल अर्थ मन्त्रालय सम्म पुगाएका छौ । वहाँहरूको पारिश्रमिक बढ्नेमा हामी आशावादी छौ ।’


















