अत्तरियामा ‘विशेष कार्यक्रम’ गरी मनाइयो मौसम दिवस

अत्तरिया – कैलालीको अत्तरियामा विश्व मौसम विज्ञान दिवस मनाइएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले ‘विशेष कार्यक्रम’ को आयोजना गरी मौसम दिवस मनाएको हो ।

Karma Consultancy

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख राम प्रसाद अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की रहेका थिए । कार्यक्रममा बोल्दै उनले सबैको सहकार्यमा विपद्को जोखिमबाट जोगिन सकिने बताए । उनले पछिल्लो समय विपद्को जोखिम बढ्दै गएकाले तीनै तहका सरकार र सम्बन्धित संघ संस्थाबिच सहकार्य हुन आवश्यक रहेको बताए । ‘हामी सँग सहयोगी संस्थाहरु छन्, स्थानीय सरकार छ, प्रदेश सरकार छ र संघीय सरकार छ’ उनले भने तीनै तहका सरकार नमिलीकन अहिले विपद्को काम गर्न अन्योल हुने अवस्था छ । त्यसलाई अन्त्य गर्नु सबैको सहकार्य हुनुपर्छ ।’

citizen security services

उनले विपदमा काम गर्ने सबै संस्थाहरू मिलेर एकद्वार प्रणालीबाट काम गर्नुपर्ने बताए । उनले संघस्थाहरुलाई चलाउन विधेयक ल्याउने तयारी गरिएको भए पनि केन्द्रमा पनि ऐन बनाउने तयारी भइरहेकाले यता रोकिएको बताए । उनले केन्द्रमा जस्तै प्रदेशमा पनि प्रदेश विपद् प्राधिकरण बनाउने तयारी भइरहेको बताए ।

attariya hospital

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विपद्का जोखिमहरू बढ्दै गएका भए पनि अहिलेको समयमा हामीले जोखिममा कसरी अनुकूलित हुने भन्ने चुनौती रहेको बताए । उनले सुदूरपश्चिममा ढुवान, कटान र पटानको बढी समस्या रहेको बताए । अब हामीले यसका जोखिम कम गर्नको लागि गम्भीर समीक्षाको आवश्यकता रहेको बताए । ‘अब हामीले कुनै एक क्षेत्रलाई नमुनाको रूपमा लिएर विपद्का काम गर्न आवश्यक छ’ उनले भने ‘चुरेबाटै बग्ने कुनै एक नदीलाई स्याम्पलका रूपमा लिएर जलवायु परिवर्तनका असर अध्ययन गरेर काम गरौँ ।’ उनले समुदायमा पनि जलवायुको धेरै ज्ञान र सीप भएकाले त्यसको पनि सदुपयोग गर्न ती सीप र ज्ञानलाई विज्ञान सँग जोड्न आवश्यक रहेको बताए ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख राम प्रसाद अवस्थीले मार्च २२ मा जय र मार्च २३ मा मौसम दिवस मनाइएको बताए । उनले मार्च २१ मा पहिलो पटक हिमनदी दिवस पनि मनाइएकाले यसलाई ‘विशेष कार्यक्रम’ भनिएको बताए । उनले कार्यक्रम जनचेतना दिने सँगै सहकार्य र समन्वयन गर्ने उद्देश्यले आयोजना गरिएको बताए । उनले मौसम दिवसको अवसरमा जलवायु परिवर्तनको कुरा बढी जोडका साथ उठिरहेको बताए । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढिरहेको बताउँदै उनले सुदूरपश्चिमका पहाडी क्षेत्रमा यसको बढी प्रभाव परेको बताए । उनले जलवायु परिवर्तनका कारण पहाडमा पानीका मूल सुक्ने, हिमाल पग्लिने क्रम बढेको बताए ।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जय कुमार साहले दिवसकै अवसरमा सुदूरपश्चिमका जल तथा मौसम अवलोकनकर्ताको लागि पूर्व सूचना क्षमता अभिवृद्धि सम्बन्धी २ दिने तालिम पनि आयोजना गरिएको बताए । उनले तालिममा नदी नालाका गेजरिडर (जल मापक) ३१ जना र वर्षा तथा मौसम मापन केन्द्रका ६४ मध्ये २८ जना सहभागी गराइएको बताए ।

उनले सुदूरपश्चिममा रहेका जल मापक ३१ वटै केन्द्र र वर्षा तथा मौसम मापनका ६४ मध्ये २३ वटा अटोमेटिक भइसकेको बताए । अटोमेटिक मापन केन्द्रबाट प्रत्येक १० मिनेटमा सूचना वेबसाइटमा प्रकाशित हुने गरेको उनले बताए । क्षमता अभिवृद्धि तालिममा पुराना उपकरणमा काम गरिरहेका गेजरिडरलाई अहिलेको आधुनिक उपकरण कसरी काम गर्ने भन्ने जानकारी दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.