अत्तरिया– नवजीवन सहकारी संस्था लिमिटेडले आफैले उत्पादन गरेको चामल बजारमा ल्याएको छ । सहकारीले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उत्पादित चामल बजारमा ल्याएको जनाएको हो । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँमा कृषि उप आयोजना सञ्चालन गरेको छ । सोही स्थानमा सहकारीले राइस मिल सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल उत्पादन गरिरहेको छ ।
संस्थाका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषि सँग जोड्नका लागि चामल उत्पादन सुरु गरिएको बताए । उनले राइस मिलमा हाल सम्म १६ हजार २८ क्विन्टल धान खरिद गरी १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए । जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ ।


सहकारीले २५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमले बताए । उनका अनुसार उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने छ । उनले छिटै होम डेलिभरीको व्यवस्था पनि गरिने बमले बताए । नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी दिनमा पिठो, तेल र पानी उत्पादन गर्ने योजना रहेको बताए ।
२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । सहकारीमा ३१ करोड ३४ लाख शेयर पुँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप सङ्कलन गरी ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको हो ।
