अत्तरिया – कैलालीका पत्रकार प्रकाश मिश्रले प्रहरीमा जाहेरी दिएका छन । घोडाघोडी नगरपालिका – १० का मिश्रले आफूलाई गालीगलौज र दुव्र्यवहार गरिएको भन्दै इलाका प्रहरी कार्यालय सुखड, कैलालीमा जाहेरी दिएका हुन ।
मिश्रले सार्वजनिक स्थलमा अभद्र व्यवहारको शिकार भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् । जाहेरीमा उल्लेख गरिएअनुसार, घटना घोडाघोडी नगरपालिका – १०, पहलमानपुरस्थित स्टेट हाउस अगाडि सार्वजनिक ठाँउमा भएको थियो । जाहेरीमा स्थानीय चेत बहादुर सिंह र डबल बहादुर शाहले गालीगलौज, दुव्र्यवहार र हातपात गरेको उल्लेख छ ।

जाहेरीमा घटनाको भिडियो खिचेका सुशिल शाहलाई पनि दुव्यवहार गरिएको उल्लेख छ । पत्रकार मिश्राले कानुनी प्रक्रिया अघि बढाइदिन प्रहरीसमक्ष अनुरोध गरेका छन् ।

महासंघको ध्यानाकर्षण
यसैबिच मिश्रामाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिले ध्यानाकर्षण भएको जनाएका छन ।

सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टद्धारा जारी प्रेस विज्ञप्तीमा पत्रकार मिश्रलाई समाचार प्रकाशन गरेको विषयमा गरिएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
धनगढीबाट प्रकाशित अनुमोदन दैनिकमा २०८१ सालको चैत ४ गते मिश्रको बाईलाईनमा ‘कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमयी जमघट’ शीर्षकको समाचार प्रकाशित भएको थियो ।

महासंघले समाचारको विषयमा असहमति भए कानूनी उपचारमा जानुको सट्टा पत्रकारलाई बोलाएर, समूह बाँधेर गरिएको आक्रमणको महासंघको प्रदेश समिति घोर निन्दा र भ्रत्सना गरेको छ । यसैबिच पत्रकार महासंघ जिल्ला समितिले पनि दोषीमाथि कारवाहीको माग गरेको छ ।