खाेज्नुहाेस

थरीथरीका सीप, थरिथरीका सपना

Image

अत्तरिया – धनगढीकी राधाको मजदुरी गरेर जीविका चल्दै आएको थियो । तर,सँगै काम गर्ने मिस्त्रीले धेरै ज्याला पाउँदा आफू भने सधैँ एउटै ज्यालामा काम गरिरहनु परेको पीडाले भने उनको मनलाई घोचिरहन्थ्यो । ‘कसरी ज्याला बढाउने विकल्प थिएन । सधैँ एउटै काम गर्नुपर्ने भएकाले काम गर्दै सिप सिक्न सम्भव थिएन’ उनले भनिन् ‘धनगढीमै डकर्मीको तालिम हुने सुनेपछि म यहाँ आइहाले । अहिले तालिम लिदैं गर्दा मिस्त्री जस्तै काम गर्न सक्छु जस्तो लाग्न थालेको छ ।’

धनगढी उपमहानगरपालिका – ९ मा बस्दै आएकी राधा कोलीले धनगढी खुला मञ्चमा आयोजना गरिएको सीप तथा रोजगार मेलामा डकर्मीको तालिम लिइरहेकी छिन । ‘पहिला लेबरी काम गर्दा ५ सय पाइन्थ्यो भने अब १ हजार रुपैयाँ पाउन सकिन्छ’ उनले भनिन ‘तालिम लिँदा भवन बनाउन के के गर्नुपर्छ । कसरी काम गर्नुपर्छ भन्ने सिकिरहेका छौ । भविष्यमा मिस्त्री बन्छु भन्ने लागेको छ ।’ प्रशिक्षक बालदिप चौधरीले डकर्मी तालिममा चार प्रकारका चिनाइको काम, घरको ढलान, घर प्लास्टर गर्ने लगायतका सीप सिकाइने बताए । उनले अहिले थोरै महिला मिस्त्री भए पनि सीप सिकाए महिलाहरू पनि पुरुष जस्तै मिस्त्रीको काम गर्न सक्ने बताए ।

attariya hospital

धनगढीकै किरन नेपाली पनि बिजुली वायरिङको काममा हेल्परी गर्थे । अहिले सीप तथा रोजगार मेलामा तालिम लिइरहेका उनले अब आफ्नै काम गर्ने योजना रहेको बताए । ‘पहिले देखि नै यो काममा रुचि भएकाले म दाइहरू सँग हेल्परीको रूपमा काम गरिरहन्थे । वहाँहरूले अलि अलि खाजा खर्च दिनुहुन्थ्यो’ उनले भने ‘अब आफ्नै काम सुरु गर्छु । अरू सँग काम गरे पनि अब राम्रै परिश्रमिक पाइन्छ ।’

सीप तथा रोजगार मेलामा फर्निचर मेकर तालिम लिइरहेका डोटीको जोरायल गाउँपालिका – २ का नरेन्द्र बहादुर साउँदले सीप सिकेर आफ्नै फर्निचर व्यवसाय सुरु गर्ने योजना रहेको बताए । उनले नेपालमै बसेर गाउँमै व्यवसाय सञ्चालन गर्ने योजना रहेको बताए । ‘मेरो पहिले देखि फर्निचरको काममा रुचि थियो । सामान्य काम पनि गर्थे’ उनले भने ‘राम्रो सँग सीप सिकेपछि व्यवस्थित तरिकाले काम गर्न सहज हुन्छ ।’

सीप तथा रोजगार मेलामा प्लम्बिङको तालिम लिइरहेका धनगढीको चटकपुरका विवेक रानाले सीप सिकेर स्वरोजगार बन्ने योजना रहेको सुनाए । उनले प्लम्बिङमा राम्रो अवसर रहेकाले सीप सिक्न थालेको बताए ।

डगौरा थारु पोसाक सिलाउने तालिम लिइरहेकी घोडाघोडी नगरपालिका – ११ की रेश्मा कुमारी चौधरीले आफ्नो संस्कृति जोगाउन सीप सिकिरहेको बताइन् । उनले सीप सिकेपछि डगौरा थारु पोसाक सिलाउने बताइन् । ‘महिलाहरूका कुर्ता सुरुवाल सिलाउने गरेकाे भए पनि आफ्नै सांस्कृतिक पोसाक सिलाउन आउँथेन’ उनले भनिन ‘तालिम लिएपछि आफ्नो संस्कृति जोगाउन थारु पोसाक सिलाउँछु ।’

navjiwan hospital

उनीहरू जस्तै अहिले सीप तथा रोजगार मेलामा थरीथरीका सपना लिएर १ हजार ४० जनाले एकै थलोमा २९ किसिमका सीप सिकिरहेका छन् । जसमा डकर्मी, फर्निचर, प्लम्बिङ देखि लिएर मोबाइल तथा सिसिटिभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन लगायतका तालिम सञ्चालन भइरहेका छन् ।

मेलामा सांस्कृतिक पोसाक निर्माण, बेत बाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फास्ट फुड कुकिङ तालिम सञ्चालन भइरहेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र बहादुर महराले बताए ।

उनले सीप तथा रोजगार मेलामा ७८ जना प्रशिक्षक, ८ जना व्यवस्थापक र अन्य गरी ९२ जना कर्मचारी खटिएको बताए । उनले तालिममा सुदूरपश्चिमका २९ पालिकाका प्रशिक्षार्थी सहभागी भएको बताए । तालिम १५ दिन देखि ४५ दिन सम्मका रहेको र तालिम पछि स्वरोजगारमा जानेहरूका लागि उद्यमशीलता तालिम र रोजगारीमा जान चाहनेहरूका लागि रोजगारी परामर्श तालिम दिइने उनले बताए । उनले चैत्र १४ र १५ गते रोजगार मेला आयोजना गरेर तालिम लिएर रोजगारीमा जान चाहने ६० प्रतिशतलाई रोजगारदाता सँगै जोड्ने लक्ष्य लिइएको बताए ।

अढाई करोड खर्च हुने अनुमान गरिएको सीप तथा रोजगार मेला ‘तालिम तथा रोजगार व्यवसायी महासंघ’ सँगको समन्वयमा धनगढी उपमहानगरपालिकाले आयोजना गरेको हो । मेलामा सुदूरपश्चिम प्रदेश सरकार सँगै विभिन्न संस्थाहरुले सहयोग गरेको रोजगार संयोजक महराले बताए ।

सीप तथा रोजगार मेलामा दैनिक बाह्य व्यक्तिहरूलाई अवलोकन गर्ने व्यवस्था गरिएको छ । सीप तथा रोजगार मेला अवलोकन गर्न पुगेका गोदावरी नगरपालिका – २ का युवराज रिमालले एकै ठाउँमा धेरै युवाले सीप सिकिरहेको देखेर खुसी लागेको बताए । उनले यसको सिको अरू पालिकाले पनि गर्न आवश्यक रहेको बताए । उनले सीप तथा रोजगार मेलाले युवाहरूलाई दक्ष बनाउने भएकाले सीप भएका युवाहरूलाई देशभित्रै वा बाहिर जहाँ गएर पनि काम गर्न सहज हुने बताए ।

भिडियो