अत्तरिया– कैलालीको अत्तरियामा रहेको पिडी पोलिक्लिनिकका सञ्चालक गणेश जिमि साउँदले स्वर्गिय बुवा धनि साउँद र स्वर्गिय बज्यै धर्मा माझीको सम्झनामा अक्षयकोष स्थापना गरेका छन । उनले गोदावरी नगरपालिका– ४ हाटखोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयमा स्वर्गीय बुवा र बज्यैको सम्झनामा ५१ हजार १११ रुपैयाको अक्षय कोष स्थापना गरेका हुन ।

बुधबार विद्यालयको २७ औ वार्षिक उत्सवको अवसर पारी साउँदले विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर साउँदलाई अक्षयकोष बराबरको चेक हस्तान्तरण गरेका छन । साउँदले विगतदेखी नै धर्मा धनी स्मृति प्रतिष्ठान सञ्चालन गरी सो बाट विपन्न र असहाय बालबालिकाहरुका लागि विभिन्न सहयोगहरु गर्दै आएका थिए ।

बिहिबार प्रतिष्ठानबाटै उक्त रकम सहयोग गरिएको उनले बताए । ‘मैले विगतदेखी नै धर्मा धनि प्रतिष्ठानबाट विभिन्न सहयोगहरु गर्दै आएको थिए, सोही सिलसिलामा आज (बुधबार) पनि विद्यालयमा अक्षयकोष स्थापना गरेको हुँ’ उनले भने ‘सो अक्षयकोषबाट विद्यालयमा अध्ययन गर्ने विपन्न, असहाय र जेहेन्दार विद्यार्थीहरुलाई अध्यापनका लागि सहयोग पुग्ने विश्वास लिएको छु ।’
विद्यालयको वार्षिक उत्सव कार्यक्रममा साउँदलाई सम्मानित समेत गरिएको थियो । अक्षयकोष स्थापना गरेको भन्दै साउँदलाई विद्यालयले सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री प्रकाश बमले साउँदलाई दोसल्लासहित सम्मान पत्रले सम्मानित गरेका थिए ।
















