खाेज्नुहाेस

अत्तरियामा डीडीसीका लागि जग्गा खोज्ने काम चर्चामै सीमित, सुस्तायो कार्यदल

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) धनगढी सार्ने तयारी गरिएपछि अत्तरियामै जग्गा खोज्न गठन गरिएको कार्यदल सुस्ताएको छ । २ महिना अघि पुस १६ गते अत्तरिया २०६७ सालदेखि स्थापना भएको डीडीसीलाई धनगढी जान नदिने भन्दै कार्यदल गठन गरिएको भए पनि जग्गा खोज्ने कार्य चर्चामै सीमित बनेको छ । अत्तरियामा डीडीसीको कार्यालय र कारखाना सञ्चालन गर्न ठाउँ अभाव भएको भन्दै धनगढीमा सार्ने तयारी गरिएको थियो । धनगढी सार्ने तयारी गरिएपछि पुस १५ गते स्थानीयले विरोध जनाउँदै सार्ने प्रक्रिया रोक्न डीडीसीलाई आग्रह गरेका थिए ।

त्यसको भोलिपल्ट गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट सहितको स्थानीय राजनीति दल र समाजसेवीको भेलाले जग्गा खोज्न कार्यदल गठन गरेको थियो । वडाध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा १४ सदस्यीय कार्यदल गठन गरिएको भए पनि उक्त समिति पछिल्लो समय सुस्ताएको छ ।

add everest academy
attariya hospital

समितिका सदस्य एवम् हाल कृषि उपज थोक बजारका अध्यक्ष नन्दलाल भट्टले जग्गा खोज्न २–४ दिन नेताहरू तातिएका भए पनि पछि सेलाएको बताए । उनले समिति गठन गरेको दिन पछि समितिको बैठक समेत नबसेको बताए ।
‘सस्तो लोकप्रियताको लागि मिडियाबाजी गरियो’ उनले भने ‘त्यसपछि केही काम भएन । एक चोटि पनि बैठक समेत बसेन ।’ उनले एक दिन जिल्ला प्रशासनमा गएर कुरा राखे पनि त्यसपछि केही काम नभएको बताए । हाल डीडीसी कृषि उपज थोक बजार अत्तरिया परिसरमा भाडामा सञ्चालनमा रहेको छ ।

कार्यदलका अध्यक्ष भट्टले हाल डीडीसी रहेको क्षेत्रमा पर्ने वनका उपभोक्ता सँग जग्गाका लागि सहमति लिए पनि अन्य काम अघि नबढेको बताए । उनले जिल्ला प्रशासनमा डीडीसीका लागि अत्तरियामा छुट्टाएको पुरानो जग्गाको फाइल अघि बढाउनका लागि छलफल समेत गरेको बताए ।  ‘यो अलि लामो प्रक्रिया हो यसमा अलि समय लाग्छ’ उनले भने ‘अहिले हामीले डीडीसीलाई यही ठाउँमा रहनुपर्छ भनेका छौ । जग्गा खोज्ने काम जारी छ ।’
navjiwan hospital

आयोजनाका प्रमुख निरञ्जन भट्टराइले डीडीसीको स्थायीत्व र विस्तारका लागि जग्गाको खोजी गर्दा धनगढीमा पाइएपछि सार्ने तयारी गरिएको बताए । उनले स्थानीयबाट यतै जग्गा उपलब्ध गराउने भनिए पनि अहिलेसम्म कुनै काम नभएको बताए ।

attariya technical collage

उनले अत्तरियामा ठाउँ कम भएका कारण सार्नुपर्ने बाध्यता रहेको बताए । उनले यता जग्गा नपाइएपछि धनगढीमा जग्गाको खोजीका लागि जाँदा धनगढीका मेयर गोपाल हमालले वडा नम्बर १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा राख्न सकिने सहमति जनाएको बताए । हाल जग्गा यतै उपलब्ध गराउने भनिए पनि काम नहुँदा झन् अन्यौलता सृजना भएको उनले बताए ।

अहिले डीडीसी अत्तरियामा रहेको कृषि उपज थोक बजारलाई मासिक २५ हजार ६८० रुपैयाँ भाडा तिरेर सञ्चालनमा रहेको छ । डीडीसीले हाल कैलाली सहित कञ्चनपुर र डडेल्धुराको आलितालका गरी करिब ६ हजार किसानको दूध सङ्कलन गर्दै आएको छ । यस्तै उत्पादित दुग्धजन्य पदार्थ दिपायल, डडेल्धुरा, अत्तरिया, धनगढी, टीकापुरमा बिक्री गर्दै आएको छ । हाल डीडीसी अत्तरियामा प्रत्यक्ष रूपमा ३० जना (१६ जना करार, १४ जना स्थायी) ले रोजगारी पाएका छन् ।

पछिल्लो समय दूधको खपत गर्न समस्या हुन थालेपछि सरकारले सुदूरपश्चिममा पाउडर दूध उत्पादन गर्ने उद्योग स्थापना गर्ने योजना अघि सारेको छ । डीडीसी मातहतमा सञ्चालन गर्ने तयारी गरिएको उक्त उद्योगका लागि अत्तरियामा जग्गा उपलब्ध नभएपछि हाल डीडीसीको कार्यालय सहित कारखाना पनि धनगढी सार्ने तयारी गरिएको थियो । पाउडर दूध उत्पादन गर्ने उद्योग स्थापनाका लागि हाल नेपाल सरकारको विशेष अनुदानमा प्रदेश सरकारले काम अगाडि बढाएका छ । ४० करोडको उक्त योजनाका लागि हाल १२ करोड विनियोजन गरिएको छ ।

सम्बन्धीत समाचार : अत्तरियामा डीडीसीका लागि १२ वर्ष अघि नै खोजिएको थियो जग्गा