काठमाडौँ । फुटबल खेलाडी तथा राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक सुब्बाको संघर्षदेखि कप्तानसम्म सफलताको कथामा आधारित फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।

ट्रेलरमा पनि उनको संघर्ष, पारिवारिक उतारचढाव र सफलताको कथा देखाइएको छ । टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन् ।

फुटबलको विपक्षमा बुवा र पक्षमा आमा छन् । एक खेलाडीको संघर्षको कथामा आधारित फिल्म यही २९ फागुनमा प्रदर्शन हुनेछ । फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्ममा एञ्जिलासहित कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन् ।
फिल्मको निर्मातामा प्रेम कुमार श्रेष्ठ छन् । फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा, र काठमाडौँमा गरिएको छ । फिल्म सुदीप बरालले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।

















