अत्तरिया – कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले गोदावरीको शिक्षाको विकासमा संस्थागत विद्यालयको प्रयत्न प्रशंसनीय रहेको बताए । उनले नगरमा विभिन्न शैक्षिक सुधारका काम अगाडि बढेको बताउँदै विद्यालयमा आवश्यकता अनुसारका शिक्षक नियुक्त गरिएको बताए । आगामी दिनमा गोदावरीको समग्र नतिजा राम्रो आउने अपेक्षा लिएको उनले बताए ।


विद्यालयका सञ्चालक यमप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरका प्रवक्ता गोपाल दत्त भट्ट लगायतका यस क्षेत्रका विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने, विभिन्न खेलकुदका कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न कला संस्कृति झल्काउने प्रस्तुति देखाएका थिए । २०४५ सालमा स्थापना भएको उक्त विद्यालय हाल कक्षा १० सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा करिब १ हजार विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।















