अत्तरिया – नेपालमा हातमा डिग्रीको सर्टिफिकेट भए पनि व्यवसाय गर्ने सिप नहुँदा बेरोजगार भएर बस्ने युवा धेरै छन् । तिनीमध्ये धेरै विदेश हानिन्छन् । कोही अध्ययन सकेर मात्रै सिप सिक्न कस्सिन्छन् । तर, कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ मौरिफाटाका विमोचन ताम्राकार भने कक्षा ७ मै पढ्दै अचार बनाउन सिकिसकेका छन् ।
युट्युबबाट हेरेर अचार बनाउन सिकेका उनी कैलालीको अत्तरियामा रहेको एभरेस्ट एकेडेमीमा बुधवार आयोजना गरिएको १९ औँ वार्षिकोत्सव कार्यक्रममा अचार बिक्री गर्दै थिए ।

सोही विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने विमोचनले वार्षिक उत्सव कार्यक्रमलाई लक्षित गरेर ४ दिन देखि अचार बनाएको बताए । ‘विद्यालयले प्रोजेक्टहरू दिएको थिए । मैले अचार बनाउने काम रोजे’ उनले भने ‘घरमा पनि अचार बनाउँथे । युट्युबमा पनि हेरेर साथीहरू सँग मिलेर विद्यालयमै अचार बनायौ’ उनले मासु, मुलाको अचार र गुन्द्रुक बनाएर बिक्री गर्नको लागि राखेको बताए । उनले १ सय देखि ३ सय सम्मका अचार बिक्रीका लागि राखिएको बताए ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालय प्राङ्गणमा स्टेज कार्यक्रम सँगै विद्यार्थीहरूले उत्पादन गरेका सामाग्री राख्नेको लागि स्टल निर्माण गरेको थियो । जसमा विद्यार्थीहरूले सामुहिक रुपमा विभिन्न खानाका परिकार सँगै विज्ञान प्रविधि सँग सम्बन्धित उत्पादन गरेका सामग्री प्रदर्शन गरेका छन् ।

प्लानेटोरियम सो आयोजना

विद्यालयले वार्षिकोत्सवको अवसरमा प्लानेटोरियम सो को पनि आयोजना गरेको छ । विद्यार्थीहरूलाई ब्रमाण्डको अद्भुत यात्रा देखाउने उद्देश्यले प्लानेटोरियम सो को आयोजना गरिएको विद्यालयका प्रिन्सिपल वंशी राम चौधरी (स्माइल) ले बताए । २ दिन आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न हुने जनाइएको छ । प्लानेटोरियम सो र विद्यार्थीका स्टल पनि २ दिन सम्म सञ्चालनमा रहने जनाइएको छ ।