खाेज्नुहाेस

पार्टपुर्जा सँग खेल्थे साहिल, अनी बन्यो ‘बग्गी’

Image

अत्तरिया – जिज्ञासु, चञ्चल हुने, नयाँ–नयाँ कुरा सिक्न खोज्ने बालबालिकाको स्वभाव नै हो । यी इच्छ्या रुचि चाहना पुरा गर्न बालबालिका आफ्नो परिवेश अनुसार विभिन्न गतिविधिमा सहभागी भइरहेका हुन्छन् । तर, यस्तो उमेरमै विज्ञान, प्रविधिमा लागेर नयाँ–नयाँ खोज गर्न तर्फ भने निकै थोरै बालबालिका लागेका पाइन्छन् । त्यस्तै विरलै भेटिने बालक मध्येका एक हुन कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेतीका साहिल खड्का ।

स्थानीय मोहना मल्टेश्वरी एकेडेमी माविमा कक्षा १० अध्ययनरत साहिल सानै देखि नयाँ–नयाँ बस्तु उत्पादनमा रुचि राख्दै आएका थिए । विद्यालयमा सञ्चालन हुने स्टिम कक्षामा अत्यधिक रुचि राख्ने उनले रोबोटिक कार, रोबोटिक हेन्ड, एलइडी बल्ब लगायतका इलेक्ट्रिकल सामान बनाउने गरेका थिए । पछि उनले अझै ठुलो गाडी नै किन बनाउन नसकिएला भनेर अध्ययन गर्दै जाँदा अहिले चार पाङ्ग्रे गाडी (बग्गी) नै निर्माण गरेका छन् ।

attariya hospital

‘पहिले देखि गाडी बनाउने इच्छ्या थियो । एक गाडी बनाए पनि त्यो खासै राम्रो भएन त्यही पनि म विभिन्न गाडीका पार्टपुर्जा खोल्ने,जोड्ने गर्थे’ उनले भने ‘पछि मेरो रुचि देखेर विद्यालयबाट पनि प्रिन्सिपल सरले सहयोग गर्नुभयो । सरको सहयोग पछि मैले अहिले ५–६ जना सम्म बस्न मिल्ने गाडी बनाउन सफल भए ।’

उनले गाडी बनाउनको लागि अटोको इन्जिन प्रयोग गरिएको बताए । चार चक्के गाडीमा ४ वटा सकर प्रयोग गरिएको उनले बताए । गाडीमा ओइल ब्रेक जडान गरेका उनले हाल गाडीमा २ सिट राखेको बताए । गाडीमा ५ सिट सम्म राख्न सकिने उनी बताउन्छन ।

navjiwan hospital

आफै ओल्डिङ गरेर फलामको च्यासिस निर्माण गरेर सडकमा कुदाउन मिल्ने गाडी बनाएका साहिलले आर्थिक अभावका कारण भने गाडीको बाहिरी डिजाइन पुरा गर्न नसकेको बताए । ‘यो गाडीलाई जिप जस्तो बनाउने योजना हो । तर, अहिले आर्थिक अभाव हुँदा पुरा गर्न सकेको छैन’ उनले भने ।

पेट्रोलबाट चल्ने उक्त गाडीमा हालसम्म २ लाख ५० हजार लगानी लागेको उनले बताए । उनले गाडी निर्माणका लागि विद्यालय, घरपरिवारबाट सहयोग पाए पनि केही रकम आफैले कुखुरा पालन गरेर जोहो गरेको बताए । उनले गाडी निर्माण गर्दा ५० हजार ऋण पनि लागेको बताए । कक्षा ७ देखि गाडी बनाउने रुचि भए पनि विद्यालयबाट सहयोग पाएपछि आफ्नो इच्छ्या पुरा भएको बताए । उनले गाडी निर्माणका लागि ग्यारेजमा पनि काम गर्न गएको बताए । उनले स्टिम कक्षाबाट पनि गाडी बनाउन सहयोग पुगेको बताए ।

मोहना मल्टेश्वरी एकेडेमी माविका प्रिन्सिपल देव राज भट्टले साहिल सानै देखि साइन्स र टेक्नोलोजीमा रुचि राख्ने विद्यार्थी भएको बताए । ‘साइन्स र टेक्नोलोजीमा बाहेकका विषयमा खासै रुचि राख्दैनथ्यो’ उनले भने ‘सात कक्षामै पढ्दा उसले रोबोटिक कार बनाएको थियो । हुँदा हुँदै अहिले उसले ठुलो गाडी बनाउने सोच राख्यो । हामीले विद्यालय र आफ्नो व्यक्तिगत सहयोग ग-यौ ।’

प्रतिभावान् साहिलको रुचि देखेर गाडीको लागतमा झन्डै ५० प्रतिशत आर्थिक सहयोग व्यक्तिगत रूपमै आफैले गरेको उनले बताए । उनले आगामी दिनमा पनि विद्यालयबाट सहयोग गर्ने चाहना भए पनि ठुलो गाडी बनाउन सबै सहयोग गर्न सम्भव नभएको बताए । उनले स्थानीय सरकारबाट पनि सहयोग पाए सहज हुने बताए । साहिलको प्रतिभा देखेर अहिले अरू बालबालिकामा पनि साइन्स र टेक्नोलोजीमा रुचि बढेको उनले बताए ।