अत्तरिया– कैलालीको गोदावरी – ३ मा रहेको खप्तड विधा निकेतनले असल अभिभावकत्व सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । शनिवार विद्यार्थीका अभिभावकहरूलाई सहभागी गराएर विद्यालयले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञवालीले बालबालिकालाई सही मार्गमा डो¥याउन अभिभावकले निभाउनुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए । उनले प्रशिक्षणका क्रममा अभिभावकले असल अभिभावक बन्न सके मात्रै बालबालिकाबाट राम्रो र असल कुराको अपेक्षा गर्न सकिने बताएका थिए । साथै बालबालिकाहरूसँगको व्यवहारले पनि उनीहरूको मनोविज्ञानमा असर पर्ने भएकाले सकभर उनीहरूसँग साथीत्वको व्यवहार गर्नुपर्ने ज्ञवालीको भनाई थियो ।


खप्तड विद्या निकेतनका प्रिन्सिपल श्याम बहादुर खत्रीले असल अभिभावक कसरी बन्ने भन्ने विषयमा प्रशिक्षण दिइएको बताए । उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यार्थीसँगै अभिभावकको पनि अहम् भूमिका हुने भएकाले प्रशिक्षण दिइएको बताए ।
‘विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकको पनि अहम् भूमिका रहन्छ’ उनले भने ‘अभिभावकले बलियो संस्कार दिन सक्यो भने कुनै पनि विद्यार्थी बाटो बिराएर हिँड्दैन । विद्यार्थी लक्ष्यमा पुग्छ ।’ उनले विद्यार्थी ६–७ घण्टा मात्रै विद्यालयमा रहने र बाकी समय अभिभावक सँग रहने भएकाले विद्यार्थीको संस्कारको विकास परिवारबाट हुने बताए । प्रशिक्षण कार्यक्रमले भविष्यमा अभिभावकहरूको बालबालिकाप्रतिको व्यवहारमा परिवर्तन आउने अपेक्षा लिएको समेत उनले बताए ।



















