अत्तरिया – बिहान कठ्याङ्ग्रिँदो चिसो भए पनि हातमा कुचो लिएर ६० कटेकी पाना देवी खड्का सडकमा झाडु लगाउँदै थिइन् । सडकमा बसेको धुलो सफा गरिरहेको उनी सँगै टोलका तन्नेरी देखि वृद्ध सम्म कोही हातका कुचो लिएर त, कोही फोहोर जम्मा गर्नको लागि कट्ठा लिएर सडकमा सफा गर्न जुटेका थिए ।
कैलालीको गोदावरी नगरपालिका – १ विजयनगर (गल्ली नम्बर २) का स्थानीयले हरेक महिनाको अन्तिम शनिवार टोल सफा गर्ने निर्णय नै गरेर कार्तिक महिनादेखि नियमित सरसफाइ गर्दै आएका छन् । करिब डेढ सय घरधुरी रहेको उक्त टोलमा महिनामा एक दिन पुरै सडकमा झाडु लगाएर धुलो सफा गर्नुका साथै सडक वरपरको फोहोर उठाउने गरिन्छ । सडकमा सरसफाइ गर्न प्रत्येक घरबाट एक जना उपस्थित हुनुपर्ने नियम बनाइएको छ । नियम नमान्नेलाई जरिवाना पनि तोकिएको छ ।

स्थानीय कमला जोशीले सडक किनारामा जताततै फोहोर हुने गरेकोमा नियमित सरसफाइ गरिदा टोलको मुहारै फेरिएको बताइन् । उनले सुरुको महिना सबैलाई जुटाउन समस्या भए पनि पछिल्लो समय स्फूर्त स्थानीय सडकमा सरसफाइका लागि आउने गरेको बताइन् । स्थानीय हर्क शाहले हरेक महिनाको एक दिन सरसफाइ गरिदा पनि टोलमा धेरै परिवर्तन आएको बताए । जताततै फोहोर हुने टोल पछिल्लो समय सफा देखिने गरेको उनले बताए ।
महँगो, मनपरी शुल्क

महिने पिच्छे टोलमा सफाइ गर्दै आएका स्थानीयले नगरपालिकाले घरमा जम्मा भएको फोहोर उठाउने शुल्क महँगो भएको गुनासो गरेका छन् । स्थानीय पाना देवी खड्काले घरघरबाट झिल्लीमा जम्मा भएको फोहर उठाएबापत महिनामा डेढ सय शुल्क उठाउनु धेरै भएको बताइन् । ‘सडक पनि हामी नै सफा गर्छौ, सरसफाइको शुल्क पनि हामीले नै तिर्नुपर्छ’ खड्काले भनिन् ‘सरसफाइमा स्थानीय सरकारले सहयोग गर्नुको सट्टा उल्टै नगरपालिकालाई महँगो शुल्क तिर्नुपर्छ ।’ उनले टोलहरूमा थोरै मात्र फोहोर जम्मा हुने भएकाले नगरपालिकाले फोहोर सङ्कलन गरे बापत उठाउने शुल्क घटाउनु पर्ने बताइन् ।
स्थानीय परी नाथले नगरपालिकाले घर घरबाट शुल्क लिए पनि सरसफाइ स्थानीयले नै गर्नुपर्दा विरोध हुन स्वाभाविक भएको बताए । उनले गाउँ घरबाट धेरै फोहोर नउठ्ने भएकाले मासिक डेढ सय शुल्क धेरै भएको बताए । ‘कि नगरपालिकाले शुल्क लिएपछि सडकमा पनि सरसफाइ गरिदिनुप¥यो’ उनले भने ‘घरमा झिल्लीको फोहोर मात्रै उठाएको डेढ सय धेरै भएकाले की त्यो रकम घटाउनु पर्छ ।’
स्थानीय उत्तिमा बुढाले प्रत्येक महिना आफैले सरसफाइ गर्दै आएकोले नगरपालिकाबाट फोहोर उठाएको मात्रै डेढ सय लिनु धेरै भएको बताइन् । उनले नगरपालिकाले शुल्क घटाउने पर्ने या आफै सरसफाइ गरिदिनुपर्ने बताइन् । उनले घर पिच्छे पनि फरक फरक शुल्क लिने गरिएकाले त्यसमा पनि एकरूपता कायम गरिनुपर्ने बताइन् ।
गोदावरी नगरपालिकाले हाल ठेक्का मार्फत फोहोर घरघरबाट फोहोर सङ्कलन गरेर उठाउँदै आएको छ । फोहोर सङ्कलनका लागि नगरपालिकाले मातृभूमि समाज प्रालि सँग २ वर्ष अघि फोहोर मैला सङ्कलनको लागि ठेक्का सम्झौता गरेको थियो । तीन वर्षको लागि गरिएको उक्त सम्झौता अनुसार मातृभूमिले प्रत्येक वर्ष नगरपालिकालाई एक लाख राजश्व तिर्दै आएको छ । उक्त कम्पनीले बजार क्षेत्रमा सडक सफा गरेर फोहोर उठाउँदै आएको भए पनि गल्लीभित्रबाट भने घर घरमा जम्मा भएको फोहोर मात्रै निश्चित शुल्क लिएर उठाउँदै आएको छ ।
मातृभूमि समाज प्रालिका सञ्चालक गोविन्द रावलले बजार क्षेत्रमा डेढ सय र ग्रामीण क्षेत्रमा एक सय लिने गरेको बताए । उनले दिनै नसक्ने व्यक्ति भएमा व्यवहारिक हिसाबमा मिलाएर बजार क्षेत्रमा एक सय पनि लिने गरिएकोले एकै ठाउँमा पनि फरक फरक शुल्क लिएको देखिएको बताए ।
नगरपालिकाको फोहर मैला व्यवस्थापन सुपरभाइजर पर्मल सिंह महराले तत्कालै नगरपालिकाका गल्लीहरूमा सरसफाइ गर्न सक्ने अवस्था नभएकाले स्थानीय टोल सुधार समिति, युवा क्लबहरूलाई टोलमा सरसफाइका लागि जागरूक गर्दै आएको बताए ।


















